Harsamaya
‘जेरी अन टप’ मलेसियामा डिसेम्बर १३ देखि प्रदर्शन हुने
फिल्म ‘जेरी अन टप’ को पोस्टर ।

काठमाडौं - घरेलु बक्स अफिसमा १२ करोड रुपैंयाभन्दा बढी कमाइ गर्दै ठूलो व्यापारिक सफलता हासिल गरेको फिल्म ‘जेरी अन टप’ अब मलेसियामा पनि प्रदर्शन हुने भएको छ ।

फिल्म डिसेम्बर १३ (शनीवार) देखि मलेसियाका प्रमुख शहरका हलहरूमा रिलिज हुने निर्माण पक्षले जानकारी दिएको । मलेसियामा व्यवसाय गर्दै आएका तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) एशिया–प्यासिफिक संयोजक हरि भट्टराईले फिल्मको मलेसिया प्रदर्शन अधिकार खरिद गरेका हुन् ।

उनका अनुसार मलेसियामा करिब पाँच लाख नेपाली कार्यरत भएकाले उनीहरूको सुविधालाई ध्यानमा राख्दै शो तालिका तय गरिएको छ ।

भट्टराईका अनुसार, ‘मलेसियामा धेरै नेपाली श्रमिक दिनभर काममा व्यस्त हुने भएकाले उनीहरूका लागि चलचित्र मज्जाले मनोरञ्जन र तनाव न्यूनीकरण गर्ने माध्यम बन्न सक्छ। तलब आउने समय नजिकिएकाले रिलिज पनि सोही हिसाबले मिलाइएको हो ।’

नेपाल, अष्ट्रेलिया र अमेरिकामा एकै साथ रिलिज भएको फिल्म अहिले यूरोप तथा मध्यपूर्वका विभिन्न सहरमा प्रदर्शन भइरहेका छन् । साथै, युके, दक्षिण कोरिया र थाइल्यान्डमा पनि रिलिज प्रक्रिया अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ ।

अनमोल केसीको करियरकै सर्वाधिक कमाइ गर्ने फिल्म मानिएको ‘जेरी अन टप’ अन्तर्राष्ट्रिय बजारमा पनि उत्तिकै रुचाइँदै आएको छ । सुयोग गुरुङको निर्देशन तथा अनन्या फिल्म्सको ब्यानरमा बनेको फिल्ममा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्तलगायत कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update