Harsamaya
विराटनगरमा नेकपाको ‘पार्टी एकता सन्देश सभा’ : शीर्ष नेताहरूले के–के बोले ?

विराटनगर - नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेशको राजधानी विराटनगरमा सोमबार भव्य ‘पार्टी एकता सन्देश सभा’ आयोजना गरेको छ ।

सभामा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूले एकता, स्वाधीनता र समसामयिक राजनीतिक मुद्दामा आफ्ना धारणा राखेका छन् ।

संयोजक दाहालले मुलुक गम्भीर सङ्कटको अवस्थामा रहेको उल्लेख गर्दै नेपाली जनताको आत्मसम्मान र स्वाधीनताको रक्षा वामपन्थी एकताको मुख्य आधार भएको बताए ।

उनले साम्राज्यवादविरुद्ध लड्न नेपाल सेना वा प्रहरी मात्र पर्याप्त नहुने भन्दै ‘सबै नेपाली फौजी जस्तै उभिनुपर्छ’ भन्ने अभिव्यक्ति दिए । जेनजी आन्दोलनले दलहरूलाई सचेत बनाएको उल्लेख गर्दै उनले पार्टी एकता र विभाजनको पीडाबाट धेरै पटक गुज्रिएको स्मरण गराए ।

दाहालले राष्ट्रपति रामचन्द्र पौडेललाई अन्तरिम सरकार बनाउन आफूले पनि सहमति दिएको प्रसङ्ग उल्लेख गर्दै संस्थागत स्थायित्वका लागि सबै दल जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरे ।

१६ वटा कम्युनिस्ट शक्ति मिलेर नयाँ संरचना तयार गर्नु जेनजी आन्दोलनबाट उठेका मागलाई सम्बोधन गर्ने प्रयास भएको उनले बताए । साथै, निर्धारित समयमा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सरकारले भरपर्दो वातावरण बनाउनुपर्नेमा जोड दिए ।

सभामा सह–संयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वामपन्थी एकतालाई नेपाली जनताको पहिचान, स्वाधीनता, सामाजिक न्याय र समानुपातिक प्रणालीको सुरक्षासँग जोड्दै समर्थन व्यक्त गरे । उनले कम्युनिस्टहरूको क्रान्तिकारी चरित्र कायम राख्न एकीकरण गरिएको बताए ।

पूर्व प्रधानमन्त्री झलनाथ खनालले विगतमा कम्युनिस्ट नेतृत्वका सरकार आए पनि जनहितका दीर्घकालीन अपेक्षा पूरा गर्न नसकेको आत्म समिक्षा गर्दै आगामी निर्वाचनमा बहुमत पाए भूमि सुधार, कृषिको आधुनिकीकरण, औद्योगिकीकरण र रोजगार सृजनामा केन्द्रित हुने प्रतिबद्धता जनाए ।

नेता नारायणकाजी श्रेष्ठले सङ्घीयता संरक्षण र सुदृढीकरणसँगै संविधानका कमजोरी सच्याउन आफ्नो पार्टी दृढ रहेको बताए। नेता डा. भीम रावलले आर्थिक समृद्धि र विकासलाई प्राथमिकतामा राख्ने लक्ष्य दोहोर्‍याए ।

सभामा कोशका संयोजक हरिबोल गजुरेलको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update