काठमाडौं- प्रत्येक वर्ष डिसेम्बर १ तारिखमा दिन मनाइने विश्व एड्स दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्ष मनाइने ३८औँ विश्व एड्स दिवस ‘अवरोध पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ भन्न नाराका साथ विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।
सन् १९८८ देखि प्रत्येक वर्ष आजको दिन मनाइने यस दिवसले एचआइभी/एड्स विरुद्धको प्रयासलाई अझ सुदृढ, समावेशी र समुदाय-केन्द्रित बनाउनुपर्ने सन्देश दिएको छ।
यो दिवसले चुनौतीबिच पनि सङ्क्रमण रोकथाम, उपचार पहुँच र अधिकारका विषयलाई प्राथमिकतामा राख्न आग्रह गर्छ । यस वर्षको नाराले एचआइभी नियन्त्रणका क्रममा देखिएका अवरोधलाई अवसरमा बदल्दै नयाँ समाधान, समान सेवा पहुँच र मानवअधिकारमैत्री स्वास्थ्य प्रणालीमार्फत एड्स अन्त्य गर्ने दिशामा अघि बढ्न आह्वान गरेको छ।
देशमा अहिले पनि दैनिक औसत दुई जना नयाँ सङ्क्रमित थपिने र एक जनाको एचआइभीका कारण ज्यान जाने अवस्था कायम छ । नेपाल सरकारले सन् २०३० भित्र एड्सको महामारी अन्त्य गर्ने लक्ष्य लिएको छ। सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्न ९५ प्रतिशतलाई आफ्नो सङ्क्रमणबारे थाहा पाउने, ९५ प्रतिशतले औषधि उपचारमा पहुँच पुराउने र ९५ प्रतिशतको भाइरल लोड कम गराउने सरकारी लक्ष्य रहेको छ।

