काठमाडौं- दोस्रो सिजनको नेपाल प्रिमियर लिग(एनपीएल) मा आज कुनै पनि खेल नहुने भएको छ । आयोजक नेपाल क्रिकेट एशोसिएसनले आजलाई खेल विश्राम गरेको छ ।
सार्वजनिक भएको तालिका अनुसार भोली अर्थात् मंगलबार भने एकसाथ दुई खेल हुने छन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल बिहान ११ः४५ बजे जनकपुर बोल्ट्स र चितवन राईनोजबिच हुनेछ। त्यसपछि दिउँसो ४:०० बजे हुने दोस्रो खेलमा पोखरा एमेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।
हालसम्म १९ खेल सम्पन्न हुँदा सुदूरपश्चिम रोयल्स अपराजित रहेको छ । रोयल्स १० अंकसहित तालिकाको शीर्षस्थानमा रहँदै प्ले अफका लागि क्वालिफाइड भइसकेको छ। समान ८-८ अंक भएको काठमाडौँ गुर्खाज दोस्रो र विराटनगर किङ्स तेस्रो स्थानमा छन्। चितवन राईनोज तथा लुम्बिनी लायन्स समान ४ अंकका साथ क्रमशः चौथो र पाँचौं स्थानमा छन्।

