Harsamaya
स्वास्थ्य मन्त्री गौतमसँग भारतीय राजदूतको शिष्टाचार भेट
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतम र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव ।

काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेटघाट भएको छ ।

मन्त्रालयमा भएको भेटका क्रममा दुई देशबीचको ऐतिहासिक र अतुलनीय मित्रता रहेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा विद्यमान द्विपक्षीय साझेदारीलाई अझ दिगो र प्रभावकारी बनाउने सम्बन्धमा छलफल भएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । 

भेटमा मन्त्री गौतमले नेपाल–भारतबीचको सम्बन्ध गहिरो रहेको र स्वास्थ्य क्षेत्रमा भारतले गरेको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गरिन् । साथै उनले मातृ तथा शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, स्वास्थ्य बीमा, राष्ट्रिय औषधि प्रयोगशालाको परीक्षण क्षमता अभिवृद्धि र प्रवासमा रहेका नेपाली श्रमिकको स्वास्थ्य सुधार मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको बताइन् । 

राजदूत श्रीवास्तवले भारत–नेपाल सम्बन्धको महत्व दोहोर्याउँदै राष्ट्रिय औषधि प्रयोगशालाको स्तरोन्नतिका लागि भवन निर्माण, आवश्यक उपकरण र जनशक्तिको तालिममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  १९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update