काठमाडौं - नेपाली कांग्रेसको संस्थापन समूहमा आबद्ध युवा–विद्यार्थीहरुले पार्टीलाई एकताबद्ध भएर अघि बढाउन नियमित महाधिवेशनको विकल्प नभएको जनाएका छन् ।
नियमित महाधिवेशनका लागि दवाव दिन शुक्रबार काठमाडौंमा युवा–विद्यार्थी भेला आयोजना गर्दै उनीहरुले विशेष महाधिवेशनको खेलले पार्टीलाई झन समस्यामा लैजाने भन्दै नियमित अधिवेशनबाट मात्रै पार्टीको अस्तित्व सुरक्षित हुने जनाएका छन् ।
उनीहरुले अहिले विशेष महाधिवेशनमा नामा पार्टीभित्र स्वार्थप्रेरित कार्य भइरहेकाले त्यसलाई तत्काल रोक्नुपर्ने धारणा समेत राखेका छन् । युवा–विद्यार्थीहरुले अहिले निर्वाचनमा पार्टीको सम्पूर्ण ध्यान केन्द्रीत गर्नुपर्ने र निर्वाचनपछि मात्रै पार्टीको महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् ।
भेलामा नेविसंघका केन्द्रीय सदस्य आदर्श मल्लले पार्टीभित्र भागबण्डाको खेलले गर्दा नेविसंघ लगाएतका भातृसंस्थाहरुको अवस्था कमजोर हुदै गएको आरोप लगाए । पार्टीलाई एकताबद्ध गरेर निर्वाचनमा सहभागी हुने वातावरण बनाउन सवै गम्भीर हुनुपर्ने उनको भनाइ छ ।
त्यस्तै कांग्रेस युवा नेता पुष्प शाही अहिले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीलाई बलियो बनाउनुपर्ने र नियमित महाधिवेशनबाट पार्टीलाई अघि बढाउनुपर्ने धारणा राखे ।
नेपाली कांग्रेसमा नियमित वा विशेष महाधिवेशन गर्ने भन्ने विवाद भइरहदा पछिल्लो समय विभिन्न पक्षको भेला भइरहेको छ । महाधिवेशनको बिषय टुङ्गोमा पुग्न नसकेपछि शुक्रबार बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंसिर १४ गते आइतबारसम्ममा लागि स्थगित गरिएको छ ।

