काठमाडौं-काठमाडौंका सडक खाल्डाखुल्डी तत्काल मर्मत गर्न सडक एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । सडक मर्मत एम्बुलेन्स नेपालमै पहिलोपटक प्रयोगमा ल्याइएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार सडक डिभिजन कार्यालय, काठमाडौंले प्रयोगमा ल्याएको सडक मर्मत एम्बुलेन्स प्रयोगको सुभारम्भ गरे । सडक डिभिजन कार्यालय, काठमाडौंको कार्यक्षेत्रमा पर्ने काठमाडौं जिल्लाभित्रका सामरिक महत्त्वका सडक तत्काल मर्मत गर्नका लागि एम्बुलेन्स प्रयोगमा ल्याइने जनाएको छ ।
त्यस्तै, सडकमा देखिएका खाल्डाखुल्डीको तत्काल जानकारी दिई मर्मत अगाडि बढाउन मोबाइल एप्स पनि सञ्चालनमा ल्याइएको छ । जसमा खाल्डोको अवस्थाको तत्काल फोटो खिची अपलोड गर्न सकिने व्यवस्था तथा मर्मतपछि त्यसको अद्यावधिक विवरण राख्न सकिनेछ ।
कार्यक्रममा मन्त्री घिसिङले सडक एम्बुलेन्स नेपालमा नमुनाका रूपमा प्रयोगमा ल्याइएको उल्लेख गर्दै त्यसलाई अन्य मुख्य सहरमा पनि विस्तार गरी सडक मर्मतसम्भारमा आउने गुनासोलाई सम्बोधन गरिने बताए । विकसित देशमा जस्तै अत्याधुनिक उपकरण जडान गरी सडक मर्मतको सेवा प्रवाहलाई अझै प्रभावकारी बनाइनु पर्नेमा उनले जोड दिए ।
सडक डिभिजन काठमाडौंका प्रमुख सुवोधकुमार देवकोटाले एम्बुलेन्सको प्रयोगबाट ३६५ दिन र २४सै घण्टा तयारी अवस्थामा रहने, सडक तत्कालै मर्मत सम्भार गरी सहज अवागमन सुनिश्चित प्रदान गर्न सकिने उल्लेख गरे ।
एम्बुलेन्ससँगै तालिमप्राप्त प्राविधिक टोली खाल्डो देखिएको स्थानमा पुगेर छिटोछरितो मर्मत कार्य सम्पन्न गरिने जनाएको छ । कामको समयमा ट्राफिक व्यवस्थापनका लागि चेतावनी बत्ती छन् । भीडभाडको समयमा समेत आकस्मिक मर्मत गर्न सकिने जनाएको छ ।

