Harsamaya
जसपा नेपालको सङ्घर्षका कार्यक्रम आजबाट सुरु,  प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि संघर्षका कार्यक्रम सुरु गर्दैछ । जसअन्तर्गत आज  जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागिएको पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन् । 

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीले उठाउँदै आएका मुख्य माग र राष्ट्रिय मुद्दा सार्वजनिक गर्दै संघर्षको कार्यक्रम घोषणा गरेको थियो । 

जसपा नेपालले मंसिर ११ गते देखि १५ गतेसम्म प्रत्येक संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर तथा बजारमा विरोध कार्यक्रम, कोणसभा गरी जनपरिचालन गर्ने भएको छ ।

मंसिर १९ र २१ गते पार्टीले उठाउँदै आएका माग र मुद्दाहरू अङ्कित प्लेकार्ड, ब्यानरसहित जिल्ला सदरमुकामहरूका जिल्ला प्रशासन कार्यालयहरू अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रम गर्ने निर्णय गरेको छ । मंसिर २७ गतेदेखि पुस  ४ गतेसम्म जिल्ला स्तरीय विरोध सभा/जनसभा आयोजना गर्नेछ ।  

जसपा नेपालको प्रदेशस्तरीय जनप्रदर्शन एवं विरोध सभाका कार्यक्रमअन्तर्गत पुस १२ गते विराटनगरमा, पुस १४ गते जनकपुर, पुस १५ गते वीरगञ्ज, पुस १७ गते भैरहवामा तय गरिएको जसपा नेपालले प्रेस नोटमा उल्लेख गरेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  ०७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update