एजेन्सी - भियतनाममा निरन्तर परेको भारी वर्षा, बाढी तथा भूस्खलनका कारण गत एक हप्तामा कम्तीमा ९० जनाले ज्यान गुमाएको अधिकारीहरूले आइतबार बताएका छन् ।
धेरै नागरिक अझै छत र पहाडी सडकहरूमा फसिरहेका छन् । अक्टोबरको अन्त्यदेखि दक्षिण–मध्य भियतनाम निरन्तर वर्षाको ठूलो प्रभावमा पर्दा लोकप्रिय पर्यटकीय सीमानाका सहरहरूमा बारम्बार बाढी ल्याई करोडौँ डलर बराबरको आर्थिक क्षति पुर्याएको छ ।
तटीय सहर न्हा ट्राङका विस्तृत क्षेत्र डुबानमा परे भने प्रख्यात पर्यटन केन्द्र दा लाट वरिपरिका उच्च भूभागमा घातक भूस्खलन भएको छ । डाक लाक प्रान्तका ६१ वर्षीय किसान माच भान सीले बाढीका कारण आफू र आफ्नी श्रीमती दुई रातसम्म छतमा फस्नुपरेको बताए । ‘हाम्रो गाउँ–छिमेक लगभग पूर्ण रूपमा नष्ट भयो, केही पनि बाँकी रहेन । सबै चिहानसम्म ढाकिए’, उनले एएफपीसँग भने । छतमा चढ्न सफल भएपछि पनि आफूहरू ‘निश्चिन्त नभएको’ उनको कथन थियो । ‘मलाई लाग्यो, अब त मुक्ति छैन’, सीले सम्झे ।
नोभेम्बर १६ पछि दर्ता भएका मृतकमध्ये ६० भन्दा धेरै डाक लाक प्रान्तमै रहेका छन् । त्यहाँ दशौँ हजार घर डुबानमा परेको वातावरण मन्त्रालयले बताएको छ । तुय हो बजार क्षेत्रको पानी केही घटे पनि ४० वर्षीया विक्रेती भो हु डुले आफूले बेच्ने अधिकांश सामान भिजेको वा माटोले छोपिएको बताए । ‘मेरो सबै सामान भिजेको ठूलो थुप्रोझैँ छ’, उनले दुःख व्यक्त गर्दै भने, ‘कहाँबाट सफा सुरु गर्ने, केही थाहा छैन ।’
वर्षौंदेखि बाढीबाट जोगिन विक्रेताहरूले पाँच सेन्टिमिटर जति उच्च स्थान सुरक्षित मान्दथे, तर यसपटक पानी एक मिटरभन्दा माथि पुगेपछि त्यो उपाय पनि निष्प्रभावी भयो ।

