काठमाडौं - काठमाडौं उपत्यका, ट्राफिक प्रहरी कार्यालयले नेकपा एमालेको कार्यक्रमका कारण काठमाडौँको प्रदर्शनी मार्ग हुँदै चल्ने सवारी साधनलाई यति बेला डाइभर्सन गरिएको जानकारी गराएको छ । उक्त स्थान हुँदै चल्ने सवारी साधनलाई पद्यमोदय मोड र सभागृहतिरबाट डाइभर्सन गरिएको हो ।
प्रदर्शनका कारण टुँडिखेल वरिपरि, भोटाहिटी, रणोदिप वा महेन्द्र शालिक र पुतलीसडक भएर चल्ने सवारी साधनको आवागमनमा पनि प्रभाव परेको हुनाले सहज यात्राका लागि उक्त सडकको विकल्पमा अन्य सडकको प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
मानिसहरू भेला वा जम्मा भएकाले काठमाडौँको माइतीघर चोकबाट सर्भिस लेन हुँदै थापाथलीतर्फ जाने सवारी साधनलाई मुख्य लेनबाट पठाइएको छ ।
त्यसै गरी, सामाखुसी चोकमा मानिसहरू भेला जम्मा भएकाले र चाबहिल चोकबाट जोरपाटी सम्मको लागि रथयात्रा भइरहेकाले सवारी आवागमनमा केही प्रभाव परेको छ । यसबाहेक काठमाडौँ उपत्यकाको अन्य स्थानको सवारी आवागमन यति बेला सामान्य रहेको छ ।
विभिन्न नाकाहरू हुँदै काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि सामान्य रूपमा चलिरहेका छन् ।

