Harsamaya

काठमाडौं - सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पीडितमैत्री नभएको आरोप लगाउँदै द्वन्द्वपीडितहरु आज धर्नामा बसेका छन् । 

विस्तृत शान्ति सम्झौता भएको १९ वर्ष बितिसक्दा पनि न्याय नपाएको गुनासो गर्दै उनीहरूले दुवै आयोग कार्यालय अगाडि सांकेतिक विरोध कार्यक्रम गरेका हुन् । उनीहरुले दुवै आयोगका पदाधिकारीको राजीनामा पनि माग गरेका छन् ।  

‘आम द्वन्द्वपीडित समुदाय’को आह्वानमा भएको धर्नामा सहभागी पीडित राम भण्डारीले आयोगप्रति आफूहरुको विश्वास नभएको उल्लेख गर्दै दुवै आयोगका  पदाधिकारीको राजीनामा माग गर्नुभयो । आयोगमा वास्तविक पीडितको प्रतिनिधित्व हुने गरी आयोग पुनर्गठन गर्नुपर्ने उनका माग छ । 

भण्डारीले आफूहरु करिब दुई दशकदेखि सत्यको खोजीमा रहे पनि राज्यबाट कुनै उत्तर नपाएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘पीडितहरु न्याय प्रक्रियामा सहभागी हुन पाएका छैनौ ।  राज्यले जबरजस्ती आयोग गठन गर्यो, त्यसलाई हामीले प्रारम्भदेखि नै अस्वीकार गर्दै आएका छौ । आज सातै प्रदेशमा विरोध कार्यक्रम चलाइरहेका छौ ।’पीडितहरूले आयोगका कर्मचारीलाई सहानुभूति र समन्वयका लागि पनि आग्रह गरेका थिए । 

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव उद्धवप्रसाद पुडासैनीले पीडितको आवाजलाई सम्बोधन गर्दै काम अघि बढाउन आफूहरु प्रतिबद्धत रहेको बताए । द्वन्द्वपीडित, राजनीतिक दललगायतका सरोकारवालाहरू एउटै ठाउँमा आउन सके न्यायिक प्रक्रिया तीव्र हुने उनको भनाइ थियो । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update