काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बारामा भएको घटनाले लोकतान्त्रिक अभ्यास, शान्ति–सुरक्षा र राष्ट्रिय हितमै चोट पुगेको बताएका छन् ।
बुधबार ललितपुरमा आयोजित एमाले स्थानीय विकास विभागको ‘स्थानीय तहका जनप्रतिनिधिको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले बारामा विमानस्थलमा तोडफोड गर्दै एमालेको सभा अवरुद्ध गर्न खोज्ने समूह अपराधिक तत्व भएको भन्दै उक्त घटनाले लोकतान्त्रिक अभ्यास, शान्ति–सुरक्षा र राष्ट्रिय हितमै चोट पुगेको बताए ।
जेनजी आन्दोलनमा अपराधिक घटना घटाएका व्यक्तिलाई प्रोत्साहन गर्ने काम भएको र उनीहरुले नै बारामा बुधबार अराजक गतिविधि गरेको उनले बताए । उनले बारामा नियोजित रुपमा नै एमालेको कार्यक्रम भाड्न खोजेको भन्दै सभा गर्न नदिनेले चुनाव गर्छ भनेर पत्याउन नसकिने जिकिर गरे ।
अध्यक्ष ओलीले वर्तमान सरकारले स्वतन्त्र रुपमा अभिव्यक्ति राख्न नदिएर निरंकुश प्रवृति देखाएको आरोप लगाए । सरकारले दुर्गा प्रसाईँलाई आफ्ना कर्तुत लुकाउन पक्राउ गरेको भन्दै उनले तत्काल रिहाइ गर्न माग समेत गरे ।
ओलीले मध्यरातमा सुतिरहेको मानिसलाई आतंकित बनाएर पक्राउ गर्नु मानवता विरुद्धको काम भएको बताए । वर्तमान सरकारको कुनै बैधानिकता नरहेको दोहोर्याउँदै उनले संसद पुनस्थापनाको बिकल्प नभएको जिकिर गरे ।
देशका लागि लड्न सक्ने, दृढ संकल्पका साथ अघि बढ्ने राजनीतिक शक्ति आवश्यक रहेको उल्लेख गर्दै उनले अहंकारमा भरिएका व्यक्तिहरूलाई थुपारेर देश बन्न नसक्ने टिप्पणी गरे ।
जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने भएकाले हालको संवेदनशील राजनीतिक चरणमा सबै नेता–कार्यकर्ता एकढिक्का हुनुपर्नेमा जोड दिए ।

