Harsamaya
ललितले धनगढीबाट ‘अर्जुन ट्रफी’ खेल्ने 
ललित राजवंशी
धनगढी - नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित राजवंशीले अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता धनगढीबाट खेल्ने भएका छन् । हालै सम्पन्न नेपाल प्रिमियिर लिग (एनपिएल) मा तहल्का पिटेका ललितले क्रिकेटको शहर धनगढीमा यही माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा डिसिए धनगढीबाट प्रतियोगिता खेल्ने भएका हुन् । 
 
एनपिएलको पहिलो उपाधि जनकपुर बोल्ट्सलाई जिताउने क्रममा सानदार प्रदर्शन सहित सबैभन्दा बढी १७ विकेट लिएका ललितले क्रिकेटको शहरको टोलीबाट खेल्न पाउँदा गर्व महसुस गरेको बताएका छन् । उनले एनपिएलको फाईनलमा सुदूरपश्चिम रोयल्सलाई उपाधि जित्नबाट बन्चित गराउन पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । 
 
फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा माघ १९ गते हुने उद्घाटन खेलमा डिसिएका प्रमुख खेलाडीको रुपमा रहेका ललितले डडेल्धुराको फेन्ड्स क्लबका प्रमुख खेलाडीहरू कुशल भुर्तेल, विनोद भण्डारी, सन्दिप जोराका विरुद्ध मैदान उत्रेर प्रतियोगिताको सुरुवात गर्नेछन् ।
 
प्रतियोगिताको खेललाई प्रत्यक्ष रुपमा मैदानमा गएर हेर्नका लागि खल्ती एपबाट टिकट काट्न सकिने सुविधा दिइएको आयोजकले जनाएको छ । प्रतियोगिताका खेलहरू हेर्नका लागि खल्ती एपमा अर्जुन ट्रफीको टिकट काट्ने सुविधा सुरु भइसकेको छ । डिजिटल वालेट खल्तीबाट टिकट काटेर खेल हेर्ने दर्शकहरूलाई टिकट बराबरको आकर्षक उपहार पनि दिइने भएको छ । 
 
यस्तै ललित समावेश रहेको डिसिए धनगढीले माघ २० गते घोडाघोडी–११ सुख्खडसँग खेल्नेछ भने माघ २२ गते बोष्टन क्रिकेट झापासँग खेल्नेछ । लिग चरणका सबै खेलहरूका बलिङ आक्रमणका प्रमुख हतियारको रुपमा ललित राजवंशी रहनेछन् ।
 
हालै सम्पन्न जय ट्रफीको च्याम्पियन नेपाल पुलिस क्लबलाई बनाउन ललितले उत्कृष्ट प्रदर्शन गरेका थिए । फाइनलमा ४ विकेट लिएका उनले प्रतियोगिताभरि २३ विकेट लिए । उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रोमा रहेका थिए । 
 
गो ड्रिमर्सको आयोजनामा यस वर्षदेखि नेपाल क्रिकेट संघको वार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताका सबै खेलका टिकटहरू खल्ती एपबाट काट्न सकिन्छ । 
 
फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा दर्शकहरूलाई मैदानमा गएर खेल हेर्नका लागि भिआईपी तर्फ दुई सय र साधारण तर्फ एक सय रुपैयाँ टिकट दर तोकिएको छ । प्रतियोगिताका सबै खेलहरू एक्सन स्पोट्र्स एचडी वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिने छ ।  
 
धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्काप्रति समर्पित अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीको रुपमा टी–२० फर्म्याटको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ ।
 
उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०/५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ । 
 
प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरूको सहभागिता रहेको छ । 
 
 
प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update