Harsamaya
तत्काल पार्टी खोल्ने कुनै तयारी छैन : दुर्गा प्रसाईँ

काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईँले तत्काल पार्टी खोल्ने तयारीमा आफू नरहेको बताएका छन् । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले आफूलाई पार्टी खोल्ने ,प्रधानमन्त्री र मन्त्री बन्ने कुनै रहर नरहेको भन्दै व्यवस्था परिवर्तन भए आफूलाई पुग्ने बताए । 

त्यस्तै उनले आज आगोको भुङ्ग्रोमा देश खसेको भन्दै त्यहाँबाट देशलाई निकाल्न आवश्यक रहेको धारणा राखे । उनले भने,‘मलाई कुनै स्वार्थ छैन । मैले पार्टी खोलेको छैन । खोल्नै परे पछि सोचौँला । पार्टी खोल्ने कुनै रहर पनि छैन । पार्टी खोल्ने, प्रधानमन्त्री र मन्त्री बन्ने कुनै रहर छैन । व्यवस्था परिवर्तन भए पुग्छ । मैले सबै कुरा त्यागेको छु । हिजो दलहरूले चलाउँदा देश तालामा थिए । आज आगोको भुङ्ग्रोमा खसेको छ । त्यहाँबाट देशलाई निकाल्नु छ ।’ 

उनले गरिबी भगाउने भनेको गरिबहरूलाई नै लखेट्ने होइन भन्दै काठमाडौं नगर प्रहरीले भने गरिबहरूलाई लखेट्ने काम गरेको बताए । 

‘गरिबी भगाउने हो, गरिबहरूलाई नै लखेट्ने होइन । किनकि गरिब, भूमिविहीन र काठमाडौंमा गरिखान्छु भनेर आएका जति पनि मान्छे छन् तिनीहरूको साथमा दुर्गा प्रसाईँ छ । तिनीहरूलाई केही पनि हुन दिँदैन । काठमाडौंको नगर प्रहरीले गर्दा काठमाडौंका दोकानमा बोनी हुन छाडेको छ । प्रत्येक व्यापारीहरू डिप्रेसनका गएका छन्, ’उनले भने   

त्यस्तै उनले मङ्सिर ७ गतेको आन्दोलन सम्पूर्ण नेपालीहरूको लागि भएको भन्दै त्यसमा आफ्नो कुनै स्वार्थ नभएको बताए । 

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update