बंगलादेश - बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ।बंगलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण अदालतले हसिनालाई मानवता विरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो ।
अभियोजन पक्षले गत जुनमा अदालतमा हसिनासहित तीन जनाविरुद्ध मुद्दा दायर गरेका थिए । जसमध्ये अदालतले तत्कालीन गृहमन्त्री आसदुज्जामान खान कमाल समेतलाई मृत्युदण्डको सजाय सुनाएको छ । तत्कालीन प्रहरी प्रमुख अल ममूनलाई भने सरकारी साक्षी बनेका कारण ५ वर्षको जेल सजाय सुनाइएको छ ।
४५३ पृष्ठको फैसलाको प्रतिलिपि पढ्नुअघि न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदारले यो फैसला छ भागमा सुनाइने जानकारी दिए। गत वर्ष जुलाई–अगस्टमा भएको विद्रोहका क्रममा मानवीय अपराध गरेको आरोप शेख हसिनामाथि लगाइएको थियो। भारतमा निर्वासनमा बसेकी हसिनाको अनुपस्थितिमै उनी विरुद्ध मुद्दा चलाइएको थियो।
सोही मुद्दामाथि सुनुवाइ गर्दै अदालतले हसिना र पूर्व गृहमन्त्री खान कमालविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सोही आन्दोलनका कारण हसिना सत्ताच्यूत भएकी थिइन् । अगस्ट २०२४ मा हसिना देशबाट भागेर भारतमा निवार्सनमा छिन् ।

