काठमाडौं - भाटभटेनी सुपर मार्केटका सञ्चालक एवं व्यवसायी मीनबहादुर गुरुङले देशको राजस्व खातामा धेरैभन्दा धेरै पैसा जम्मा गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा कर दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले आफूजस्तो व्यवसायीहरूले जम्मा गरेको पैसाले नै देश बन्ने भन्दै त्यस कारण पनि देशको राजस्व खातामा धेरै रकम जम्मा हुनुपर्ने बताए ।
उनले भने, ‘मलाई आफ्नो देशको राजस्व खातामा पैसा कम जाओस् भन्ने कुरा कहिले पनि मनमा आउँदैन। जहिले पनि देशको राजस्व खातामा पैसा धेरैभन्दा धेरै जम्मा गर्न सकौँ । हामीले जम्मा गरेको पैसाले नै देश बनाउने हो । त्यस कारण कर जम्मा गर्नुपर्छ भन्ने मेरो विचार हो ।’
यस्तै, गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले ठूलो मात्रामा क्षति भएको भन्दै अब गम्भीर भएर अगाडि बढ्नुपर्ने बताए ।
उनले भने, ‘गत भदौ २३ र २४ गते जेनजीको ठूलो आन्दोलन भयो र जेनजीहरुले दुई दिनमै सत्ता परिवर्तन गरिदियो । अब हामी गम्भीर भएर अगाडि बढ्नुपर्छ । यदि भएनौ भने यस्तो आन्दोलन अझै धेरै हुन सक्छ ।’
यस्तै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले आर्थिक गतिविधिको विस्तार र राजस्व वृद्धि दुवै एक अर्काका परिपूरक भएको भन्दै आर्थिक गतिविधिहरूको विस्तार गर्न सके राजस्व पनि वृद्धि हुने बताए ।
उनले भने, ‘राष्ट्रिय कर दिवस एक दिनको उत्सव मात्रै होइन । जिम्मेवार कर प्रशासन र करदाताको साझा प्रतिबद्धताको सम्मान हो । आर्थिक गतिविधिको विस्तार र राजस्व वृद्धि दुवै एक अर्काका परिपूरक हुन् । जति आर्थिक गतिविधिहरूको विस्तार गर्न सक्छौ त्यति नै राजस्वको वृद्धि हुने हो र सरकारले तोकेको लक्ष्य प्राप्ति गर्न सजिलो हुन्छ ।’
आर्थिक गतिविधि विस्तारको लागि निजी क्षेत्रमैत्री कर नीतिहरू, करदातामैत्री वातावरणको निर्माण आवश्यक रहेको पनि उनको भनाई छ ।

