काठमाडौं - प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का ७ जना मन्त्रीले सम्पत्ति विवरण बुझाएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सात जना सदस्यको सम्पत्ति विवरण प्राप्त भएको छ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्की गत २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी थिइन् । उनले ३० भदौमा तीन जना मन्त्री नियुक्त गरेकी थिइन् । जसअन्तर्गत पूर्व अर्थ सचिव रामेश्वर खनाल अर्थमन्त्री भए । सोही दिन नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री भए । अधिवक्ता ओमप्रकाश अर्याल गृहमन्त्री भए ।
यी तीन जना मन्त्री भएको ६१ दिनमा गृहमन्त्री अर्याल, अर्थमन्त्री खनालले सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएका छन् । यस्तै कार्कीले दोस्रो चरणमा गत ६ असोजमा नियुक्त गरेका चार जना मन्त्री अनिलकुमार सिन्हा उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री , महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधि, मदनप्रसाद परियार कृषि तथा पशुपन्छी विकास मन्त्रीले सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएका छन् ।
यस्तै ९ कात्तिकमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार भएको थियो । जसअन्तर्गत पूर्वस्वास्थ्य सचिव सुधा शर्मा गौतम स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेकी छन् । बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री भएका छन् । यी दुई जनामध्ये खेलकुद मन्त्री गुप्ताले सम्पत्ति विवरण बुझाएका छन् । तर, ऊर्जा मन्त्री घिसिङ, सञ्चारमन्त्री खरेल र स्वास्थ्य मन्त्री शर्मा ले सम्पत्ति विवरण बुझाउन बाँकी छ ।

