Harsamaya
नेपाली काँग्रेसको संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूले बुझाए ६ बुँदे ज्ञापनपत्र

काठमाडौं - नेपाली काँग्रेसको संस्थापन पक्षका २५ केन्द्रीय सदस्यहरूले विभिन्न ७ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएका छन् । उनीहरूले ज्ञापन पत्रमा सरकारले फागुन २१ गतेका लागि निर्धारण गरेको प्रतिनिधिसभा निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको १५ औँ महाधिवेशन मङ्सिर १५ गतेभित्र सुरु गर्नुपर्ने उल्लेख गरेका छन् ।

 ‘आसन्न २०८२ साल फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधान बमोजिम २०८२ साल मङ्सिर महिनाभित्र १५ औँ महाधिवेशन प्रारम्भ गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्य तालिका बनाई लागू गर्ने,’ज्ञापन पत्रमा उल्लेख छ । 

त्यस्तै ज्ञापन पत्रमा महाधिवेशन सम्पन्न गर्ने पहिलो खुड्किलो क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण कार्य सम्पन्न हुनुपर्ने भएकोले समय सीमा निर्धारण गरेर क्रियाशील सदस्यता टुङ्ग्याउनु पर्ने उल्लेख छ । 

साथै युवा पुस्ताहरूको उल्लेखनीय प्रतिनिधित्वको सुनिश्चितता हुने गरी विधानमा संशोधन गर्नुपर्ने, पार्टीको अन्तरिम निर्वाचन समितिलाई अविलम्ब पूर्णता दिनु पर्ने, १५औँ महाधिवेशनमा सबै तहको पार्टीको संरचनामा युवा, महिला, दलित, आदिवासी जनजाति, थारु, मधेसी, मुस्लिम, पिछडा क्षेत्र र वर्ग एवम् अपाङ्गता भएकाहरूको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्ने, स्थानीय, प्रदेश र सङ्घीय तहको निर्वाचनमा समानुपातिक  समावेशिताको सिद्धान्त अनुसार युवा उमेर समूहलाई समेत उम्मेदवार बनाउन प्राथमिकतामा राख्ने र संविधान संशोधनको सन्दर्भमा पार्टीमा वडादेखि केन्द्रीय तहसम्म व्यापक संवाद चलाई स्पष्ट दृष्टिकोण सहित पार्टीको अवधारणा निर्माण गर्ने उल्लेख छ ।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update