काठमाडौं - केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल ट्रस्टको जग्गा गैरकानुनी तरिकाले निजी कम्पनीलाई लिजमा दिने सम्झौता गराउने नेपाल ट्रस्टको कार्यालयका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ।
६६ वर्षीय कार्कीलाई शुक्रबार चितवनको भरतपुर महानगरपालिका वडा नं. १५ बाट पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उललेख छ । कार्की अवकाश भएका कर्मचारी हुन् ।
यो कसुर काठमाडौँको दरबारमार्ग स्थित नेपाल ट्रस्टको नाममा दर्ता कायम रहेको जग्गा नेपाल ट्रस्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिको बिचमा लिजमा दिने–लिने सम्बन्धमा सम्झौता हुँदा आपराधिक विश्वासघात गरेको बरोप कार्कीमाथि छ । करार सम्झौता हुँदा नेपाल ट्रस्टको कार्यालय, दरबारमार्गमा सहसचिव पदमा कार्यरत थिए ।
सूचनामा उल्लेख भएको कित्ता नं. ४६०६ को जग्गाभन्दा बढी अर्को कित्ता नं. ४६०५ समेत थप गरी लिजमा दिने–लिने सम्झौता सञ्चालक समितिको निर्णय र आधारविना वदनियतपूर्वक गरिएको अनुसन्धानबाट खुलेको छ।
उक्त जग्गा बीओटी (निर्माण, सञ्चालन र हस्तान्तरण) मोडेल अन्तर्गत ३ वर्ष निर्माण अवधि समेत ३० वर्षको लागि लिजमा दिने–लिने करार सम्झौता मिति २०७४ जेठ १४ गते भएको थियो ।
यो कार्यले नेपाल ट्रस्टको कार्यालयलाई दीर्घकालीन हानी नोक्सानी हुनेगरी नेपाल राष्ट्रलाई नै ठुलो नोक्सानी पुर्याएको तथा विभिन्न पद तथा ओहदामा रहेका व्यक्ति, सरकारी कर्मचारी, सहयोगी तथा मतियार समेतले गैरकानुनी लाभ लिएको आरोप लागेको छ।


