काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा हुने फागुन २१ गतेको निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि भएको बताउँदै यसलाई सफल पार्न सबैलाई आग्रह गरेका छन् ।
उनले यो निर्वाचन नेपालको विकास र भाग्यका लागि महत्वपूर्ण हुने पनि बताए । दोहास्थित नेपाली राजदूतावासमा सोमबार आयोजित स्वागत कार्यक्रममा सरिक हुनेक्रममा नेपाली समुदायलाई सम्वोधन गर्दै उनले यस्तो बताएको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिएका छन् ।
उनले युवा पुस्ताले भ्रष्टाचारको अन्त्य, सुशासन, विकास र नेपाली युवाहरूले विदेशिनु नपर्ने अवस्थाका लागि आन्दोलन गरेको तर यो तापमा रोटी सेकाउन खोज्नेहरू असफल भएर संविधान र प्रणाली जोगाउन सकिएको पनि बताए ।
उनले संसारका अन्य देशमा युवा पुस्तको आन्दोलनले ल्याएको आँधीबेरीको समाधान निकाल्न कठिन भए पनि नेपालमा प्रणाली र संविधान जोगाएर राजनीतिलाई सुरक्षित अवतरण गराउन सकिएको उल्लेख गरे ।
कतारको विकास, उन्नति र प्रविधिबाट लिएको अनुभवलाई नेपालको विकासमा लगाउन राष्ट्रपति पौडेलले नेपाली समुदायलाई आग्रह गरेको पनि पोखरेलले जानकारी दिएका छन् ।
कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन सोमबार नै यहाँ आइपुगेका राष्ट्रपति पौडेल र प्रथम महिला सबिता पौडेलसहितको नेपाली प्रतिनिधिमण्डललाई कतारका लागि नेपालका राजदूत रमेशचन्द्र पौडेल, उच्च पदस्थ कर्मचारी, गै्रह आवासीय नेपाली संघका प्रतिनिधिले स्वागत गरेका थिए ।
सो अवसरमा राष्ट्रपति पौडेललले नेपालीहरूको श्रम गन्तव्यका रूपमा रहेको कतारस्थित दूतीवासको नेपाली श्रमिकहरूको दुख,सुख एवं समस्या बुझेर काम गर्नुपर्ने गहन दायित्व रहेको उल्लेख गर्दे यो अभिभारा पुरा गर्न र भरपर्दो सेवा दिन दूतावासका कर्मचारीहरूलाई आग्रह गरे ।
राष्ट्रपति पौडेलले मध्यपूर्वी क्षेत्रमा महत्वपूर्ण भूमिका खेलिरहेको कतारस्थित दूतावासले नेपाल र कतारबीचको सम्बन्धलाई अध सुमधुर बनाउन भूमिका खेल्नुपर्ने पनि बताए ।
सो अवसरमा राजदूत रमेशचन्द्र पौडेलले कतारमा रहेका नेपाली श्रमिकहरूका बारेमा जानकारी गराएका थिए ।
राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार कतारको दोहामा हुन लागेको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ को मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साथै, उनले सो सम्मेलनका अवसरमा कतारका अमिर शेख तमिम बिन हमद अल थानी र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायतसँग भेटवार्ता पनि गर्ने कार्यक्रम रहेको छ ।
यसअघि उक्त सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेको विकासको असमानता, जनसङख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा छलफल हुने बताइएको छ ।
संयुक्त राष्ट्रसङ्घको १९५५ मा सदस्य भएपछि नेपाल शान्ति र स्थायित्वका लागि सधैँ सक्रिय र प्रतिबद्ध सदस्य रही आएको छ । राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को हाल नेपाल अध्यक्ष रहेको छ । कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्किने छन् ।

