Harsamaya
सप्तकोशीमा पानीको बहाव बढ्दै, ब्यारेजका १६ ढोका खोलिए
सप्तकोशी नदी ।

सुनसरी - लगातार दुई दिनदेखिको वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढ्दै गएको छ । नदीमा जलसतह बढ्न थालेसँगै कोशी ब्यारेजका १६ वटा ढोका खोलिएका छन् ।

आज बिहान ८ बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा प्रतिसेकेन्ड ७८ हजार २३० क्युसेक पानीको प्रवाह हुँदा १३ ढोका खोलिएको थियो । दिउँसो १२ बजे मापन गर्दा प्रवाह प्रतिसेकेन्ड ९२ हजार १३० क्युसेक, अपराह्न ४ बजे १ लाख २८ हजार ११५ क्युसेक र बेलुका ८ बजे १ लाख ३४ हजार ५५५ क्युसेक पुगेपछि १६ ढोका खोलिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए । 

गत असोज १९ गते नदीमा पानीको प्रवाह अत्यधिक बढेपछि कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएका थिए । त्यसपछि केही समयसम्म प्रवाह घटेको भए पनि बिहीबार देखिको अविरल वर्षाका कारण आज साँझदेखि सप्तकोशीमा पुनः पानीको मात्रा बढ्न थालेको खतिवडाले बताए । 

लगातार भइरहेको वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  २१:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update