Harsamaya
गेरुवाको इन्टेकमा आन्तरिक पर्यटकको घुइँचो 

बर्दिया - बर्दियाको गेरुवा गाउँपालिकामा रहेको ओखरिया इन्टेकमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । विशेषगरी तिहारको समयमा देउसी भैलो खेलेपछि पिकनिक खाने, इन्टेक घुम्ने,  कर्णाली चिसापानी पुुल  र बर्दिया राष्ट्रिय निकुञ्जको दृश्यावलोकन गर्नका लागि पर्यटकको घुइँचो लाग्ने गरेको छ । 

ओखरिया इन्टेकमा आजभोलि पिकनिक खाने र घुम्नेको घुइँचो लाग्ने गरेको छ । शनिबारको दिनमा सबैभन्दा बढी घुइँचो लाग्ने गरेको गेरुवा गाउँपालिका वडा नं १ जनकनगरका पर्यटन व्यवसायी तिलक बहादुर चौधरीले बताए । 

पछिल्लो समयमा हरेक दिन करिब ५० ओटा टिम पिकनिक खान र घुम्नका लागि आउने गरेको उनले बताए । ओखरिया इन्टेकबाट बर्दिया राष्ट्रिय निकुञ्जबाट विचरण गर्न आएका बाघ, हात्ती गैँडा चित्तल लगfतका वन्यजन्तु हेर्न पाईन्छ । इन्टेक आसपासको क्षेत्रमा आउने वन्यजन्तु हेर्न सकिने हुनाले पनि त्यहाँ घुम्न जाने गरेको गेरुवा गाउँपालिका वडा नं ४ गिदरपुरका पुस्कर काफ्लेले बताए । 

स्थानीय सरकारले ओखरिया इन्टेकलाई थप व्यवस्थित बनाउन सकेमा बाह्य पर्यटकलाई समेत आकर्षण गर्न सकिने उनले बताए । 

पर्यटकको लागि र पिकनिक खाने टोलीको लागि सहज होस भनेर गेरुवा गाउँपालिकाले पिकनिक स्थलको व्यवस्थापन गरेको छ । पिकनिक स्थलमा खानेपानी, शौचालय, टहरा, गोलघर र सो ठाउँमा जानका लागि सडक निर्माण गरिएको गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्दले बताए । 

उनले सो ठाउँलाई थप रमणीय बनाउनका लागि सहिद स्मृति पार्क निर्माण कार्य अगाडि बढाइएको बताए । ओखरिया इन्टेक सँग सँगै गेरुवा गाउँपालिकाले अन्य स्थानलाई समेत पर्यटकिय क्षेत्रको रूपमा विकास गर्दै लगेको उनले बताए । 

पश्चिम क्षेत्रबाट निकुञ्ज दृश्यावलोकन गर्ने र निकुञ्ज प्रवेश गर्ने गरी पर्यटक आकर्षित गर्नका लागि योजना बनाएर काम गरिरहेको गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले बताए । 

 

ओखरिया इन्टेक बर्दियाको सदरमुकाम गुलरिया देखि ५५ किलोमिटर उत्तर पश्चिममा पर्दछ । भौगोलिक विकटाता भएपनि शान्त वातावरण र मनोरम दृश्य भएको हुनाले टाढा टाढा देखि ओखरिया इन्टेक घुम्नका लागि पर्यटकहरू पुग्ने गर्दछन् । 

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update