तनहुँ - गत भदौमा जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको जिल्ला प्रशासन कार्यालयको राहदानी सेवा ५१ दिनपछि सञ्चालनमा आएको छ । जेनजी प्रदर्शनपश्चात् कार्यालय भवन तोडफोड र आगजनीबाट पूर्ण रूपमा क्षति भएपछि रोकिएको सेवा आजदेखि सञ्चालनमा आएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले ५१ दिनपछि आजदेखि राहदानीको काम सुरु भएको जानकारी दिए । दसैँ अगाडि छापिएर आएका राहदानी वितरण गरिएपनि नयाँ विवरण दर्ताको काम भने आजदेखि सुरु भएको उनले बताए ।
सहायक प्रजिअ रेग्मीका अनुसार आज ४० जनालाई सेवाका लागि कोटा निर्धारण गरिएको छ । यसअगाडि दुई वटा स्टेसन रहेकामा अहिले एउटा स्टेसनबाट सेवा प्रवाह थालिएको छ ।
यससँगै कार्यालयबाट साविकका सबै काम सुरु भएका सहायक प्रजिअ रेग्मीले जानकारी दिए । कार्यालयमा गत असोज २६ गतेदेखि राष्ट्रिय परिचयपत्र दर्ताको काम पनि पुनःसञ्चालन गरिएको थियो ।

