एजेन्सी - बंगलादेशकी फरार पूर्व प्रधानमन्त्री शेख हसिनाले आफ्नो पार्टी अवामी लिगबिना हुने आगामी निर्वाचनले देशमा नयाँ विभाजनको ‘बीज रोप्ने’ चेतावनी दिएकी छिन् ।
उनले एएफपीलाई पठाएको लिखित प्रतिक्रियामा, आफ्नो पतनपछि पहिलो पटक सार्वजनिक रूपमा बोल्दै मानवता विरुद्धको अपराधको मुद्दालाई ‘न्यायशास्त्रको मजाक’ र ‘पूर्वनिर्धारित फैसला’ भन्दै कडा आलोचना गरिन् ।
सन् २०२४ अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहपछि उनको १५ वर्ष लामो शासन अन्त्य भएको थियो । भीडले सरकारी निवासमा आक्रमण गरेपछि उनी हेलिकप्टरमार्फत देशबाट भागेकी थिइन्। संयुक्त राष्ट्रसंघका अनुसार आन्दोलनमा दमनका क्रममा करिब एक हजार ४०० जनाको मृत्यु भएको थियो । यो अहिले उनीमाथि चलिरहेको मुद्दाको केन्द्र विषय बनेको छ ।
७८ वर्षीया हसिनाले अहिले भारतमा शरण लिइरहेकी छिन् । उनले आफूविरुद्धको आरोपलाई राजनीतिक प्रतिशोधको परिणाम बताउँदै भनिन्, ‘ममाथि लगाइएका सबै आरोपहरू पूर्ण रूपमा अस्वीकार्य र प्रमाणरहित छन् । यो अनिर्वाचित प्रशासनले तयार पारेको राजनीतिक षड्यन्त्र हो ।’
उनले भनिन्, ‘अवामी लिगको सहभागिताबिना हुने निर्वाचन विश्वसनीय हुन सक्दैन । यस्ता कदमले देशमा भविष्यको विभाजन र अस्थिरताको बीज रोप्नेछ ।’
नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा बनेको अन्तरिम सरकारले मे महिनामा अवामी लिगमाथि आतंकवाद विरोधी ऐन अन्तर्गत प्रतिबन्ध लगाएको थियो । यसलाई ह्युमन राइट्स वाचले ‘कठोर र अलोकतान्त्रिक’ भन्दै निन्दा गरेको थियो ।
हसिनाले स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि सबै दलहरूको प्रत्यक्ष सहभागिता आवश्यक रहेको बताउँदै भन्नुभयो, ‘निर्वाचन भनेको विचारहरूको प्रतिस्पर्धा हो । तपाईंले कुनै पार्टीलाई मन नपरेर बहिष्कार गर्न सक्नुहुन्न ।’

