Harsamaya
छठ पर्वको अवसरमा व्यवस्था गरिएका मुख्य उपासना स्थलमा महानगरको विशेष सरसफाइ
पर्व सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाले घाट, पोखरी, दह तथा नदी किनारहरूमा विशेष सरसफाइ कार्य तदारूकतासाथ सम्पन्न ।

काठमाडौं - सूर्य उपासना, स्नान, व्रत र भजनसंगीतसँग जोडिएको नेपालीहरूको महान पर्व छठ काठमाडौंमा श्रद्धा र भक्तिभावका साथ सम्पन्न भएको छ । पर्व सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाले घाट, पोखरी, दह तथा नदी किनारहरूमा विशेष सरसफाइ कार्य तदारूकतासाथ सम्पन्न गरेको छ ।

यस वर्षका लागि काठमाडौं महानगरभित्र कमलपोखरी, गौरीघाट, बोक्सी दह, बागमती दोभान, टंकेश्वर, बल्खु कुमारी क्लब अगाडि, कुलेश्वर भलिबल ग्राउन्ड, रामघाट र बालाजु २२ धारा गरी नौ वटा घाटलाई मुख्य उपासना स्थलका रूपमा तयारी गरिएको थियो । तिनै स्थानहरूमा स्वच्छता कायम गर्न महानगरले विशेष सरसफाइ गरेको छ ।

महानगरका सफाइ कर्मचारी र महानगर प्रहरी परिचालन गरी पोखरी, ताल र नदी किनारमा रहेका फोहर पूर्ण रूपमा हटाइएको छ ।

सूर्य उपासनाको यो पर्व भव्य र सुरक्षित वातावरणमा सम्पन्न गराउन महानगरले यसअघि नै व्यापक तयारी गरेको थियो । जनप्रतिनिधिको नेतृत्वमा स्थानीय संघसंस्था, क्लब र सरोकारवालासँग समन्वय गरी उपासनास्थलहरूमा सरसफाइ, उज्यालो, सुरक्षा र अन्य आवश्यक व्यवस्थाको तयारी गरिएको थियो ।

छठ पर्वलाई आस्था, समर्पण र पारिवारिक एकताको प्रतीकका रूपमा लिइन्छ । आमाको ममता, परिवारको समर्पण र सामाजिक उज्यालो संस्कारको पहिचान बोकेको यो पर्वले शान्ति, समृद्धि र सन्तान सुखको कामना गर्ने धार्मिक विश्वास स्थापित गरेको पाइन्छ ।

विगत वर्षहरूमा जस्तै यस वर्ष पनि महानगरले उपासनास्थल व्यवस्थापन, सजावट र सरसफाइलाई प्राथमिकतामा राख्दै कार्य सम्पन्न गरेको छ । महानगरको सक्रियताले भक्तजनहरूले स्वच्छ र सौन्दर्यपूर्ण वातावरणमा सूर्य उपासना सम्पन्न गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update