Harsamaya
घरेलु मैदानमा भारतमाथि नेपालको जित
भारतमाथि नेपालको जित ।

काठमाडौं - ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबलको दोस्रो खेलमा नेपालले भारतलाई पराजित गरेको छ ।  भारतको शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा नेपालले घरेलु टोलीमाथि २-१ गोल अन्तरले जित निकालेको हो । कप्तान सावित्रा भण्डारी साम्बाको दुई गोल मद्दतमा नेपालले भारतलाई २-१ ले पराजित गरेको हो ।

साम्बाले खेलको दोस्रो मिनेटमै गोल गरी नेपाललाई अग्रता दिलाएकी थिइन् । विमला विकले मैदानको आफ्नै भागबाट दिएको लामो पासमा साम्बाले भारतीय डिफेण्डरलाई पछि पार्दै गोल गरेकी हुन् । साम्बालेनै ६२औँ मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । घरेलु टोली भारतले ८१औँ मिनेटमा गोल फर्कायो । 

यसअघि नेपालले सन् २०१९ मा भारतमै भएको हिरो गोल्डकपमा पहिलो पटक भारतलाई पराजित गरेको थियो । भारतलाई उसैको मैदानमा नेपालले दोस्रो पटक पराजित गरेको हो ।

यस्तै काठमाडौंमा सन् २०२२ र २०२४ मा भएको साफ महिला च्याम्पियनसिपमा पनि नेपालले भारतलाई पराजित गरेको थियो । 

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  २०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update