काठमाडौं - गाई, गोरु र अन्य पशु–पक्षीको पूजा पनि प्रकृति पूजक परम्परासँग सम्बन्धित छ । गाई र गोरुको पूजा कृषि, जीविकोपार्जन र धार्मिक कर्मसँग जोडिएको छ ।
गाईलाई त हामीले लक्ष्मी माता र आमाको स्वरूप वा पोषण दाताको स्वरूपको रूपमा पनि पूजा गर्ने गर्दछौँ । किनभने गाईको दूध पान गर्नाले शरीरमा ऊर्जा उत्पन्न हुने गर्दछ । गाईको अगाडि पछाडि सम्पूर्ण ब्रह्मा, विष्णु र महेश्वर जस्ता भगवान्हरू रहने भएकाले यसलाई गौ माताको रूपमा मानिन्छ ।
हिन्दु धर्म संस्कृति तथा संस्कार अनुसार वैतरणी तर्नको लागि पनि गाईको पुच्छरको आवश्यकता रहेको छ । साथै जुनसुकै कर्म गर्दाखेरीपनि गाईको गौदान गर्ने प्रचलन रहेको छ । त्यसपछि मात्रै हामीले शुभ कर्महरू गर्ने गर्दछौँ । गाईको त दैनिक रूपमा पनि पूजा पाठ गर्ने परम्परा रहेको छ । तैपनि विशेष गरी कार्तिक कृष्ण औँसी वा कुनै समय तिथिका कारण शुक्ल प्रतिपदाका दिनहरूमा पनि गौ माताको पूजा गर्ने गरिन्छ ।
लक्ष्मीपूजाको दिन, माता लक्ष्मीको आराधना गरिन्छ । यस दिन घर–आँगनमा दीप प्रज्वलन गरिन्छ र सम्पत्ति, सुख र समृद्धिको कामना गरिन्छ । धन त्रयोदशीको दिन, पुराण अनुसार, लक्ष्मी माताको कृपाले स्वर्गबाट अमरावती र कुबेरसँग भएको सम्पत्ति फिर्ता ल्याइएको थियो । त्यसैले सुन, चाँदी, धातु र अन्य मूल्य वान वस्तु किन्न र पूजा गर्ने चलन छ ।
गोरुलाई पनि अन्न दाताको रूपमा पूजा गर्ने प्रचलन रहेको छ । कृषिप्रधान देश भएकाले हामीले हलो जोत्न पनि गोरुको प्रयोग गर्ने गर्दछौँ । वर्ष भरी जोतेको गोरुलाई यस दिन गोरुको खुरमा तेल लगाउने, सिङमा रङ्ग लगाउने, शरीरमा बेसार र तिलको छाप लगाउने र माला लगाएर र मिठो अन्न खान दिएर पूजा गर्ने चलन परापूर्व काल देखि हाल सम्म रहेको छ ।