
काठमाडौं - ललितपुरको जावलाखेल मैदानमा जारी १८ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ आइतबार सम्पन्न भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को आयोजनामा सम्पन्न पाँच दिने मेलामा विभिन्न स्टलबाट १ करोड ३२ लाख बढीको कारोबार भएको छ ।
तिहार आउनु अगाडी हरेक वर्ष गोदावरी फुल मेला हुँदै आएको छ । मेलाको अन्तिम दिन आइतबार मात्र साढे २८ लाखको कारोबार भएको मेलाका संयोजक सुमन महर्जनले जानकारी दिए । पाँच दिनमा कुल ३९ हजार बढीले मेलाको अवलोकन गरेको उनले बताए ।
मेलामा विशेष गरी गोदावरी, सयपत्रीको लगायत सिजनेवल फूल तथा बोटबिरुवाहरूको कारोबार बढी गरिएको बताउँदै फ्यानका अध्यक्ष राजेश भक्त श्रेष्ठले फूल पारखीहरूको सङ्ख्या बढ्दै गएको बताए । वर्षेनी गर्ने मेलाका कारण व्यवसायी र उपभोक्ताबिच थप सम्बन्ध विस्तार भई फार्म र पसलहरूमा उपभोक्ताहरू बढ्दै गएको अनुभव व्यवसायीहरूको छ ।
आर्थिक मन्दी र तरल राजनीतिक अवस्थाका बाबजुद पनि अवलोकनकर्ताहरूको घुइँचो बढेकाले आफूहरू उत्साहित भएको फ्यानका वरिष्ठ उपाध्यक्ष राम बहादुर तामाङले बताए । मेलाको स्थान गत वर्षको भन्दा फराकिलो र थप व्यवस्थित भएकाले पनि अवलोकनकर्ता सन्तुष्ट भएको उनको भनाइ छ ।
मेलामा व्यावसायिक स्टल ८०, प्लान्ट क्लिनिक स्टल १, अफिसियल स्टल ५, प्रतियोगितात्मक स्टल २, र फोटो सेल्फी स्टल २ गरी जम्मा ९० वटा प्रदर्शनी कक्षहरु राखिएका थिए । विगत झैँ यस वर्ष पनि गोदावरी फूलको ४ वटा विधा (मिनियचर, रिफ्लेक्स, स्पाईडर र ईनकर्भ) मा प्रतिस्पर्धा गरिएको थियो । प्रदर्शनीमा पुरस्कृत हुनेमा प्रथम सम्झना नर्शरी, दोस्रो माई नर्शरी र तेस्रो आजिमा नर्शरी रहेका छन् । त्यसैगरी उत्कृट क्याटेगोरी अन्तर्गत बेष्ट रिफ्लेक्समा माई नर्शरी, बेष्ट स्पाइडरमा सम्झना नर्शरी, बेष्ट इन्कर्भमा आजिमा नर्शरी, बेष्ट मेन्टेलेन्समा सम्झना नर्शरी, बेष्ट कट् फ्लावरमा नव सेवा नर्शरी र बेष्ट स्टलमा दिक्षा नर्शरीले उत्कृष्ट पुरस्कार पाएका छन् ।
नेपालमा वि.सं.२०११ सालमा सामान्य स्तरबाट पुष्प व्यवसाय सुरु भएको इतिहास रहेको छ । यस पछि पुष्प व्यवसायले बिस्तारै गति लिएको थियो । वि.सं. २०४९ साल ताकासम्म लगभग जम्मा ८० को सङ्ख्यामा मात्रै नर्सरी व्यवसायीहरू रहेको थियो । २०४९ सालमा संस्थागत रूपमा फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को स्थापना भए पश्चात् मात्र पुष्पको व्यवसायिक विकास, विस्तार र प्रवर्द्धनले गति लिएको हो ।
हाल बढ्दो सहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य सहरहरू लगायतका अन्य क्षेत्रमा पुष्प व्यवसाय फैलँदो अवस्थामा रहेको फ्यानको जनाएको छ । पुष्प खेती भइरहेको जिल्ला सङ्ख्या ५२ रहेको छ भने २७० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ ।
पुष्प क्षेत्रमा एक हजार २३५ भन्दा बढी पुष्प व्यवसायीहरू संलग्न रही व्यवसाय गरिरहेको अवस्था छ भने पुष्प व्यवसायमा अनुमानित लगानी रु.८ अर्ब ८३ करोड भन्दा बढी रहेको छ ।
पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गरी अनुमानित ५३ हजार ५०० भन्दा बढी जनशक्तिहरू रोजगार रहेको छ । पुष्पको वार्षिक कारोबार रु ३ अर्ब ३७ करोड रहेको फ्यानले जनाएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार पुष्प तथा पुष्पजन्य बस्तुको वार्षिक निर्यात कारोबार आ.व. ०८०/८१ मा रु.१ करोड ०२ लाख १२ हजार कारोबार रहेकोमा आर्थिक वर्ष ०८१/८२ मा १०९.१६% ले वृद्धि भई रु.२ करोड १३ लाख ६० हजार कारोबार भएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार आ.व. ०८०/८१ को तुलनामा आर्थिक वर्ष ०८१/८२ मा ५४.२७% ले आयात कारोबारमा कमी आई पुष्प तथा पुष्पजन्य बस्तुको वार्षिक आयात कारोबार रु.१२ करोड ७० लाख ८९ हजार रहेको छ । अघिल्लो आ.व.मा रु.२७ करोड ७९ लाख ०५ हजार आयात कारोबार रहेको थियो । पुष्प तथा पुष्पजन्य वस्तुको बजार मागमा हरेक वर्ष १० देखि १५ प्रतिशतको दरले थपिने गरेको छ ।