
काठमाडौं - काठमाडौंको भृकुटीमण्डपमा असोज २८ गतेदेखि सञ्चालनमा आएको तेस्रो तिहार फ्लोरा एक्स्पो शनिबार समापन गरिएको छ । नर्सरी व्यवसायी सङ्घ नेपालको आयोजनामा सम्पन्न उक्त मेलाको समापन अभिनेत्री मनीषा कोइरालाको विशेष उपस्थितिमा गरिएको हो ।
समापन कार्यक्रममा बोल्दै अभिनेत्री कोइरालाले प्राकृतिक सौन्दर्य र वनस्पतिको संरक्षणप्रति जोड दिइन् । उनले भनिन्, ‘हामीले विदेशी फूलहरू पनि ल्याएर बुझ्नुपर्छ, कस्तो हुन्छन् भनेर जान्नुपर्छ । तर आफ्नै माटोमा हुर्किएका पुराना बोटबिरुवालाई हेप्नु हुँदैन ।’ उनले नेपाललाई प्रकृतिले सजिएको सुन्दर देशको रूपमा चित्रण गर्दै वातावरणीय संरक्षणमा सबैको ध्यान जानुपर्ने बताइन् । ‘हामीले वातावरण बुझेर सफा राख्नुपर्ने, बोटबिरुवालाई माया गर्ने र संरक्षण गर्ने प्रयास गर्नुपर्छ,’ उनले भनिन् ।
एक्स्पोमा विभिन्न प्रजातिका गमलाका फूल, फलफूल नर्सरी तथा कृषि प्रयोजनका बोटबिरुवाहरू प्रदर्शन तथा बिक्रीका लागि राखिएका थिए । मेलामा ७० वटा स्टल स्थापना गरिएका थिए, जहाँ ज्योतिषीय, औषधीय, सजावटी तथा उपयोगी वनस्पतिको समुचित प्रदर्शन गरिएको थियो ।
पाँच दिनसम्म सञ्चालन भएको फ्लोरा एक्स्पोले नर्सरी व्यवसाय प्रवर्द्धनसँगै वातावरण प्रेमी नागरिकहरूलाई आकर्षित गरेको आयोजकले जनाएको छ ।