Harsamaya
राष्ट्रपति पौडेलसँग अध्यक्ष दाहालको भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल ।

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले आज भेट गरेका छन् । 

राष्ट्रपति कार्यालय शीतलमा भएको भेटमा अध्यक्ष दाहालले अन्तर–व्यवस्थापिका संघ (आइपियु)को १५१ औँ महासभामा नेपालको सङ्घीय संसद्को तर्फबाट सहभागी हुनेबारे जानकारी गराएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । विश्वभरका १८१ देशका संसदहरू सदस्य रहेको आइपियुको १५१ औँ महासभा स्विट्जरल्यान्डको जेनेभामा यही अक्टोबर १९–२३ मा सम्पन्न हुँदैछ । 

उक्त महासभामा सहभागी हुन राष्ट्रियसभा अध्यक्षको नेतृत्वमा संघीय संसद्को एक प्रतिनिधि मण्डल जाँदैछ । आइपियुको महासभामा नेपालको सहभागिता, राष्ट्रियसभा निर्वाचनलगायत समसामयिक विषयमा जानकारी तथा छलफल गर्न राष्ट्रियसभा अध्यक्षले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका थिए । 

त्यसअवसरमा अध्यक्ष दाहालले आगामी माघमा हुने राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा समेत जानकारी गराएका थिए । 

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update