Harsamaya
लोकतन्त्र मन नपर्ने र तानाशाही सोच राख्ने तत्वहरूले हामीलाई प्रहार गरे : अध्यक्ष ओली 
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ।

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश हाल गम्भीर राजनीतिक संकटतर्फ धकेलिएको भन्दै प्रतिक्रान्तिका लक्षणहरू देखा परेको चेतावनी दिएका छन् ।

एमाले केन्द्रीय कमिटीको १० औँ बैठकलाई सम्बोधन गर्दै ओलीले वर्तमान अवस्था लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार भएको बताएका हुन् ।

उनले देश अप्रत्याशित रूपमा प्रतिक्रान्तितर्फ अग्रसर भइरहेको छ र यदि यो अवस्थामा प्रभावकारी हस्तक्षेप गर्न नसकेमा मुलुक बर्बादीको दिशामा जाने खतरा बढ्दो भएको बताए । उनले भने, ‘आज देश अप्रत्याशित रूपमा एउटा प्रतिक्रान्तिको घटना घटेको छ । यदि हामीले प्रभावकारी ढंगले काम गर्न सकेनौं भने देश प्रतिक्रान्तितर्फ धकेलिएको छ, देश बर्बादीतर्फ धकेलिएको छ ।’

अध्यक्ष ओलीले यो अवस्थालाई लोकतान्त्रिक, जनपक्षीय, शान्तिपूर्ण, सुशासनयुक्त, भ्रष्टाचारमुक्त र विकासमुखी बाटोमा फर्काउनु अत्यावश्यक रहेको बताए ।

उनले भने, ‘देशलाई हामीले अगाडि लानै पर्छ । हामी प्रहारको अन्यभन्दा बढी निशाना भएका छौं । किन? हामीले नराम्रो काम गरेकै कारण होइन, हामीले नराम्रो नीति ल्याएकै कारण पनि होइन । हाम्रा नीतिहरू राम्रा भएका कारण हामी निशाना भएका हौं । लोकतन्त्र मन नपर्ने र तानाशाही सोच राख्ने तत्वहरूले हामीलाई प्रहार गरेका छन् ।’

अध्यक्ष ओलीले एमालेसँग देशको समृद्धि र विकासका लागि स्पष्ट दृष्टिकोण र कार्यदिशा रहेको दाबीसमेत गरेका छन् । उनले पार्टीको जिम्मेवारी अहिलेको परिस्थितिमा अझ महत्वपूर्ण भएको भन्दै सबै तहका नेताहरूलाई जिम्मेवार ढंगले अघि बढ्न आह्वान गरे ।

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update