Harsamaya
जिल्ला अस्पताल बाजुरामा फोहर निर्मलीकरण मेसिन जडान
जिल्ला अस्पताल बाजुरामा फोहर निर्मलीकरण मेसिन जडान ।

बाजुरा - जिल्ला अस्पताल बाजुरामा फोहर निर्मलीकरण मेसिन जडान गरिएको छ। अस्पतालले फोहोर वर्गीकरण गरेर व्यवस्थापन सुरु गरेको हो । अस्पतालबाट निस्कने फोहोरबाट उत्पन्न हुने संक्रमणलाई न्युनिकरण गर्न नयाँ प्रविधिबाट फोहरको व्यवस्थापन सुरु गरिएको हो ।

फोहोरजन्य वस्तु उचित रूपमा विसर्जन नहुँदा सम्भावित जोखिम न्यूनीकरण गर्न फोहर निर्मलीकरण मेसिन जडान गरिएको अस्पतालका प्रमुख डाक्टर चन्द्रशेखर यादवले बताए । अस्पतालबाट निस्किने सबै खालको फोहोर मेसिनमा राखेर रोगका कीटाणुलाई पूर्ण रूपमा निर्मलीकरण गरेर विसर्जन गर्न सहयोग पुग्ने उनले बताए ।

उनका अनुसार,औषधिका डब्बा, सिरिन्ज,स्लाइनका बोतल, मेटल, कागज, लगायत अन्य प्रयोग भई सकिएका फोहोरलाई  प्रशोधन गर्ने र सहज तरिकाले विसर्जन गरिने गरि मेसिन जडान गरिएको बताएका छन् । अस्पतालजन्य फोहोरलाई १ सय २१ डिग्री सेन्टिग्रेड तापक्रममा आधा घण्टा मेसिनमा राखेपछि यसबाट फोहोरमा भएका सबै किसिमका किटाणुहरू मर्ने र किटाणु मरेपछि संक्रमण नहुने गरेको छ ।

फोहरबाट सम्भावित जोखिमलाई न्युनिकरण गर्न करिब १ करोड ७० लाखको लागतमा प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र धनगढी कैलालीबाट अस्पताल बाजुरामा उक्त मेसिन जडान गरिएको हो । मेसिन जडानले अस्पतालको फोहरजन्य वस्तुहरुलाई सहज रुपमा संक्रमण नहुने गरि व्यवस्थापन गर्न सहज हुने छ । प्रशोधित फोहर बडीमालिका नगरपालिकाको टिप्परबाट विसर्जन गरिने भएको हो।

प्रयोग पश्चात् खेर गएको फोहबाट उत्पन्न हुने संक्रमणलाई निराकरण गर्न बाजुरा अस्पताल सहित डोटी अस्पताल र बयलपाटा अस्पतालमा फोहर निर्मलीकरण मेसिन जडान गरिएको प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र धनगढी कैलालीका बायोमेडिकल ईन्जिनियर आसुतोष भण्डारीले बताए ।

संक्रमित फोहोरलाई मेसिनमा प्रयोग गरी निर्मलीकरण गरिने जसबाट कुनै संक्रमण नहुने गरेको भण्डारीको भनाइ छ । मेसिनबाट अस्पतालका वार्डहरुमा संकलित फोहोरलाई कुनै संक्रमण नहुने गरि व्यवस्थापन गर्न ठुलो सहयोग पुग्ने उनले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update