
काठमाडौं - गायक दुर्गेश थापाले अमेरिकाका विभिन्न सहरमा साङ्गीतिक प्रस्तुति दिने भएका छन् । त्यसका लागि मङ्गलवार उनी अमेरिका उडेका हुन् । अमेरिकाका विभिन्न ११ सहरमा उनको कार्यक्रम तय भइसकेको छ । थापा पहिलो पटक अमेरिका गएका हुन् । थापाको पहिलो कार्यक्रम आगामी शुक्रवार अस्टिन टेक्सासबाट सुरु भएर नोभेम्बर २२ मा डल्लास टेक्ससमा पुगेर सकिनेछ ।
उनले न्यूयोर्क बाल्टिमोर, कोलम्बस, कोलोराडोलगायतका ठाउँमा ११ स्टेजमा प्रस्तुति दिने आयोजकले जानकारी दिएको छ । दुर्गेश टुर आरएनआर ग्रुप एलएलसीबाट रोशन पुरी, पाण्डे होम्स एलएलसीबाट गणेश पाण्डे र एकेबी कम्पनी एलएलसीबाट अशिष भडेलले आयोजना गरेका हुन् । साथै पिस एन्ड ब्युटी नामक गैर नाफामुखी संस्थाले साझेदारी गरेको छ ।
अग्रिम टिकटका लागि पनि आयोजकले आग्रह गरेको छ । आयोजकले दुर्गेशको यो पहिलो अमेरिका टुर भएकाले पनि दर्शकको उल्लेख्य उपस्थिति हुने अपेक्षा राखेको छ । आयोजक मध्येका एक रोशन पुरीका अनुसार पहिलो पटक अमेरिकामा रहेका नेपालीहरू माझ दुर्गेशलाई ल्याउन पाउँदा खुसी लागेको र फरक फरक ठाउँका नेपालीलाई एकै स्थानमा भेला गराउन पाउने बताए ।
कार्यक्रम मध्ये नोभेम्बर १ मा भर्जिनियामा हुने कार्यक्रममा गायिका मेलिना राईको पनि प्रस्तुति रहने आयोजकले बताइएको छ । मेलिनाले भिडिओ सन्देश दिँदै नोभेम्बर १ मा भेटौँ पनि भनेकी छिन् ।