
इजरायल - गाजामा हमासको नियन्त्रणमा रहेका नेपालका बिपिन जोशी सहित जीवित बन्धकहरुको नयाँ सूचीमा सार्वजनिक भएको छ। यसअघि उनको अवस्था अज्ञात रहेको जाइएको थियो । तर अहिले टाइम्स अफ इजरायल र एपीसहित सञ्चारमाध्यमले जारी गरेको २२ जना जीवितको सूचीमा बिपिन पनि परेका छन्।
शुक्रबारदेखि सुरु भएको युद्ध विरामले अक्टोबर ७, २०२३ मा सुरु भएको दुई वर्षे विनाशकारी युद्ध अन्त्य हुने दिशामा छ। उक्त आक्रमणमा करिब एक हजार २०० जना मारिएका थिए भने २५१ लाई अपहरण गरिएको थियो। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धमा ६७ हजार प्यालेस्टिनी मारिएका छन्। इजरायली कारबाहीमा ज्यान गुमाउने आधा महिला र बालबालिका छन्। गाजाको २० लाख जनसंख्याको ९० प्रतिशत जनसंख्या विस्थापित भएको छ।
२५१ मध्ये गाजामा हाल ४८ बन्धक छन्। शुक्रबार भएको युद्धविरामसँगै सोमबारदेखि मंगलबारसम्म बन्धक रिहा हुने अपेक्षा गरिएको छ। इजरायलले दुई हजार प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी गरेको छ।
जोशी आक्रमणअघि एक महिना नेपालबाट इजरायल पुगेका थिए। उनी गाजामा अहिले जीवित एकमात्र गैर–इजरायली बन्धक हुन्। गाजा सीमाको किबुट्ज अलुमिममा काम र कृषि अध्ययनका लागि पुगेका थिए। १७ नेपाली विद्यार्थीमध्ये १० को आक्रमणमा मृत्यु भएको थियो। जोशीले बम आश्रयबाट ग्रेनेड फ्याँकेर धेरैलाई बचाएका थिए। तर आफू घाइते भएर अपहरणमा परेका थिए।
उनकी बहिनी पुष्पा जोशी र आमा पद्मा जोशी बिपिनको रिहाइका लागि इजरायलसम्म पुगेका थिए। उनको परिवारले अमेरिकासम्म पुगेर अन्तर्राष्ट्रिय समुदायसँग बिपिनको रिहाइका लागि अपिल गरेका थिए ।