अछामबाट आइरहेको गाडी डोटीमा दुर्घटना: २२ वर्षीया हरियाको मृत्यु, २१ जना घाइते
काठमाडौं - अछामबाट धनगढी आइरहेको गाडी डोटीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
सुपप्र ०१००१ ख ३९५६ नम्बरको गाडी भीमदत्त राजमार्ग अन्तर्गत जोरायल गाउँपालिका–२ मा आज बिहान दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर जोराले दुर्घटनामा अछामको मंगलसेन नगरपालिका घर भएकी २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।
दुर्घटनामा परेर ६ बालबालिकासहित अन्य २१ जना घाइते भएको उनले बताए । उनीहरूमध्ये एकको अवस्था गम्भीर रहेको छ भने घाइते सबैलाई उपचारका लागि धनगढी ल्याइएको छ ।
प्रकाशित मिति: शनिबार, असोज २५, २०८२ ०८:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

