बाजुरा - बाजुराको पूर्वी उत्तरी क्षेत्रमा पर्ने बुढिनन्दा नगरपालिकामा लगाइएको ताला खोलिएको छ । स्थानीयहरूका माग एक हप्ता भित्र सुनुवाइ हुने निर्णयका साथ ताला खोलिएको हो ।
स्थानीय जनताको मागअनुसार काम गर्न नसकेको भन्दै युवाहरूले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए। कोल्टीमा खानेपानी र विद्युत् सेवालाई चुस्त बनाउन माग गर्दै उनीहरूले तालाबन्दी गरेका हुन् ।
युवाहरूले कोल्टी बजारमा तत्काल खानेपानी र नियमित विद्युत् सेवाको व्यवस्था गर्न माग गर्दै ताला लगाएका थिए तर नगरपालिकाले एक हप्ता भित्र माग पूरा गर्ने निर्णय अनुसार ताला खोलेको छ ।
ताला खोलिनु पूर्व तालाबन्दी कर्ता र नगर उपप्रमुख राम बहादुर बोहरा बिच छलफल भएको थियो । छलफल पश्चात् एक हप्ता भित्र माग पूरा गर्ने निर्णयका साथ ताला खोलिएको हो । एक हप्ता भित्र माग सुनुवाइ भएन भने पुनः तालाबन्दी गर्ने समेत युवाहरूको चेतावनी दिएका छन् ।
कोल्टीमा दुई दशक पहिला नै विद्युत् बने पनि जुड्डीगार्ड लघु जलविद्युत आयोजनाको नहर बेला बेला भत्किने र बिजुली समेत अनियमित भइरहने हुँदा स्थानीयले सास्ती खेप्न बाध्य छन् । जसले गर्दा मोबाइल चार्ज गर्न समेत उनीलाई सामुदायिक रेडियोमा लाइन लाग्नु पर्ने अवस्था छ।
स्थानीय जनता मुहान अभावले खानेपानीको समस्या भोग्न बाध्य छन् । नगरपालिका पछिल्लो समय विद्युत् र खानेपानीको दिगो व्यवस्थापन गर्न जिम्मेवार बनेको देखिन्छ। बिजुलीको लागि केन्द्रीय प्रसारण लाइन जडानको अन्तिम तयारीमा पुगेको छ भने खानेपानीको लागि पनि बृहत् योजना अघि बढाइएको छ ।

