काठमाडौं - देशभर मनसुन सक्रिए भएसँगै वर्षातका कारण सडक दुर्घटनाको जोखिम बढेको भन्दै ट्राफिक प्रहरीले सबै सवारी चालकहरूलाई अत्यधिक सावधानी अपनाउन माइकिङसहित आग्रह गर्न थालेको छ ।
आगामी तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले विशेष सावधानी आवश्यक भएको बताउँदै ट्राफिक प्रहरीले सडक सुरक्षामा उच्च सतर्कता अपनाएको र विभिन्न नाकाहरूमा माइकिङ गर्ने कार्य भइरहेको जनाइएको छ ।
वर्षात्का बेला सडक चिप्लो हुने, दृश्यता कम हुने र पहिरो तथा बाढीको जोखिमसमेत उच्च हुने भएकाले चालकहरूलाई विशेष सतर्कता अपनाउन आग्रह सहित माइकिङ गर्न थालिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी बताए ।
विशेषगरी उपत्यकाबाट बाहिरिने प्रमुख नाका नागढुङ्गा, साँगा, थानकोट, बालाजु, सातदोबाटो लगायतका स्थानहरूमा ट्राफिक प्रहरी परिचालित गरी गएरातिदेखि चालकहरूलाई मौखिक सूचना, माइकिङ गर्न थालिएको ट्राफिक प्रहरी प्रमुख अधिकारीले जानकारी दिए ।
नागढुङ्गाबाट बाहिरिने लामो दूरीका सवारी चालकहरूलाई राति र पानी परेको समयमा एक्लै यात्रा नगर्न, सकेसम्म समूहमा यात्रा गर्न र नियमित रूपमा सवारी साधनको प्राविधिक परीक्षण (ब्रेक, टायर, लाइट आदि) गराउन समेत आग्रहसहित माइकिङ गरिएको उनको भनाइ छ ।

