
काठमाडौं - जेनजी प्रदर्शनपछि नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालालाई प्रधानमन्त्री बनाउनेबारे छलफल भएको खुलासा भएको छ। एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले प्रतिनिनधिसभाबाटै प्रधानमन्त्री बनाउने भए डा. शेखरलाई प्रधानमन्त्री बनाएर जान सकिनेबारे छलफल भएको खुलासा गरेका हुन् ।
बुधबार जनआस्था साप्ताहिकमा लामो लेख लेख्दै नेपालले २३ र २४ गतेको जेनजी प्रदर्शनपछि देशमा स्टेटलेस अवस्था हुँदा विभिन्न कोणबाट छलफल भएको उल्लेख गरेका छन् ।
प्रतिनिधिसभाभित्रैबाट वा प्रतिनिधिसभाबाहिरबाट सरकार बनाउँदा के कस्ता चुनौती आउँछन् भन्नेबारे छलफल भएको उनले बताएका छन् । संसदभित्रैबाट नयाँ विकल्प खोज्दा नेपाली काँग्रेसका शेखर कोइराला वा अरु कसैलाई प्रधानमन्त्री बनाउन सकिने प्रस्ताव पनि आयो । तर काठमाडौंका मेयर बालेन्द्र शाह बालेनले त्यसलाई ठाडै अस्वीकार गरे, नेपालले लेखेका छन् ।
मेयर शाह जेनजी आन्दोलनभरि न सडकमा देखा परे न काठमाडौं जल्दा एउटा दमकल पठाउनै सके तर देशलाई अनिष्चयको भुमरिमा लाने कुरामा भने प्रत्यक्ष या परोक्ष रुपमा उनी देखिएका छन् । उनले नै जेनजीहरूलाई संसद विघटनको सर्त राख्न भने, अहिलेकी प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन भने सोही अनुसार नै देश अघि बढ्यो ।