Harsamaya
‘जेनजी’प्रदर्शनका क्रममा लुटपाटमा संलग्न १० जना पक्राउ
प्रतिकात्मक तस्वीर ।

काभ्रेपलाञ्चोक - ‘जेनजी’ प्रदर्शनका क्रममा लुटपाटमा संलग्न भएको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते प्रहरी कार्यालयबाट लुटिएका हातहतियारसहित उनीहरुको साथबाट हतियार र गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार मण्डनदेउपुर नगरपालिका–७ घर भई हाल बनेपा नपा–९ स्थित लायकु बस्ने ३४ वर्षीय सन्तोष श्रेष्ठलाई पक्राउ गरिएको छ । उनको साथबाट एक थान कटुवा पेस्तोल र ३६ राउण्ड गोली बरामद गरिएको छ । 

त्यसैगरी हातहतियारको ७३० राउण्ड गोलीसहित सोही वडाकै २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय एक किशोर, १५ वर्षीय एक बालक पक्राउ परेका छन् ।

गोलीसहित पक्राउ पर्नेमा काभ्रेपलाञ्चोककै तेमाल गाउँपालिका–२ का २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका–१० का ३४ वर्षीय अछुत खड्का तथा बारा घर भएका २० वर्षीय महेश मुखिया र मकवानपुरको बकैया गाउँपालिका–६ का २४ वर्षीय सुशान्त लो रहेको प्रहरीले जनाएको छ । 

यसैगरी, धुलिखेल नपा–१ का रमेश तामाङलाई पनि पक्राउ गरेको जनाएको छ । उहाँले इलाका प्रहरी कार्यालय बनेपाबाट लुटपाट गरी हतियार लगेर प्रदर्शन गर्दै टिकटकसमेत बनाएको आरोप छ । 

लुटिएको हतियार तथा गोलीसहित पक्राउबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले बताए । यसैगरी यस अवधिमा विभिन्न कारागारबाट भागेका ३७ कैदीबन्दीलाई प्रहरीले काभ्रेपलाञ्चोकबाट पक्राउ गरेको जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  २१:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update