काठमाडौं - बाढी–पहिरोका कारण अवरुद्ध सडक खुलाउने क्रम जारी छ । पहिरोका कारणले अवरुद्ध भएका केही सडक सञ्चालनमा आइसकेका छन् । तर अझै पनि केही सडक खुल्न सकेका छैनन् । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मुग्लिङ सडक खण्ड सञ्चालनमा आएको छ ।
पृथ्वी राजमार्गको घोप्टे भिर र जवाङ खोला पहिरो हटाई यातायात सुचारु गरेको नाग ढुङ्गा मुग्लिङ सडक योजनाले जानकारी दिएको हो ।
गए राति जवाङ खोला लगायतका स्थानमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प भएको थियो । त्यस्तै काठमाडौँ उपत्यकालाई देशका विभिन्न स्थानसँग जोड्ने मुख्य सडक मुग्लिङ–नारायणगढ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ । तुइन खोलामा आज पनि पहिरो पन्छाउने क्रम जारी नै रहेको सड्क विभाका प्रवक्ता प्रभात झा ले जानकारी दिएका छन् । हिजो साँझ पानी परेकाले पहिरो पन्छाउने काम रोकिए पनि आज बिहानैबाट पहिरो पन्छाउने काम सुरु भइसकेको उनले जानकारी दिएका छन् ।
बुधबार राती ठुलो पानी परे पनि थप पहिरो झरेको छैन । तर पहिरो पन्छाएर बाटो खुलाउन कम्तीमा दुई दिन लाग्न सक्ने अनुमान गरिएको छ । त्यस्तै शहिद मार्गमा भने सहज रूपमा यातायात सञ्चालन भइरहेको छ ।

