
काठमाडौं - यस वर्ष काठमाडौं महानगरपालिकामा रहेका संस्थागत विद्यालयहरूमा २० हजारभन्दा धेरै विद्यार्थीले छात्रवृत्ति पाएका छन् । काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले छात्रवृत्ति पाउनेहरूको यो सङ्ख्या अहिलेसम्मकै उच्च रहेको बताए ।
महानगरअन्तर्गतका संस्थागत विद्यालयहरूले विद्यार्थीहरूलाई छात्रवृत्ति दिनुपर्ने कानुन कार्यान्वयन गर्दा २० हजारभन्दा धेरै विद्यार्थीले सवा दुई अर्बको छात्रवृत्ति पाएका हुन् ।
कार्यान्वयनको पहिलो वर्ष १३०००, दोस्रो वर्ष १९००० र यो वर्ष १ देखि १० सम्म १६९८० र ११ मा ३३०२ गरी जम्मा २०,२८२ ले छात्रवृत्ति पाएकाे साहले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । विद्यालयहरूले छात्रवृत्तिको विवरण सार्वजनिक नगरे काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिने उनले बताएका छन् ।
यस शैक्षिक सत्र २०८२ मा हालसम्म विवरण बुझाउने विद्यालयको सङ्ख्या ४४० पुगेको छ, जसअनुसार १६,९८० जनाले छात्रवृत्ति पाएका हुन्। केही विद्यालयले भने हालसम्म विवरण बुझाएका छैनन् ।
‘उहाँहरुलाई यथाशीघ्र विवरण बुझाउन अनुरोध गर्छौ, विवरण पेस नगर्ने विद्यालयहरू बन्द विद्यालयको रूपमा बुझी काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिनेछ,’ साहले लेखेका छन् ।