Harsamaya
रास्वपा केन्द्रीय समितिको बैठक मंगलबार बस्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक मंगलबार बस्ने ।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक मंगलबार बस्ने भएको  छ ।  बैठक मंगलबार बिहान ८ बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने भएको हो । 

पार्टीले जारी गरेको सूचनामा बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टी संगठन तथा आगामी रणनीतिबारे गम्भीर छलफल हुने उल्लेख छ । बैठकको एजेन्डामा सात मुख्य विषयवस्तु समेटिएका छन् ।

पार्टीका अनुसार बैठकमा समसामयिक अवस्था र बैठकको औचित्यबारे प्रारम्भिक छलफलपछि, हालै सम्पन्न प्रदेश स्तरीय बैठकहरूबाट प्राप्त विवरण सभापतिहरूको तर्फबाट प्रस्तुत गरिनेछ । त्यसपछि परिवर्तित राजनीतिक परिवेशमा केन्द्रीय सदस्यहरूको धारणा प्रस्तुत गरिने बताइएको छ ।

त्यसैगरी, पार्टी संगठन र विभागीय संरचनासम्बन्धी विषयमा पनि चर्चा हुनेछ भने आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीले अपनाउने रणनीति तय गर्ने तयारी गरिएको छ ।

बैठकमा पार्टीको ऐतिहासिक महाधिवेशनसम्बन्धी तयारीबारे समेत विस्तृत छलफल हुने र विविध विषयहरूमा आवश्यक निर्णय लिने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update