Harsamaya
शहिद विजय चौधरीको परिवारलाई संघीय र स्थानीय सरकारको सहयोग
नगरप्रमुख महेशप्रसाद चौधरी ।

सिरहा - जेनजी पुस्ताको प्रदर्शनका क्रममा काठमाडौंमा प्रहरीको गोली लागेर ज्यान गुमाएका लहान नगरपालिका–१५, सिमलटोकीका विजय चौधरीलाई संघीय सरकारले सहिद घोषणा गरेको छ भने स्थानीय लहान नगरपालिकाले पनि उनको परिवारलाई राहत, शिक्षा र रोजगारीको प्याकेज घोषणा गरेको छ।

लहान नगरपालिकाले शहिद चौधरीको परिवारलाई तत्कालका लागि एक लाख राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ। 

मंगलबार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख महेशप्रसाद चौधरीले उक्त घोषणा गर्दै शहिद चौधरीकी चार वर्षीया छोरीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गरिने र उनकी श्रीमतीलाई योग्यताअनुसार नगरपालिकामा रोजगारीको व्यवस्था मिलाइने जानकारी दिए । 

‘प्रदर्शनमा ज्यान गुमाइसकेपछि परिवारले भोग्नुपर्ने पीडा केही हदसम्म भए पनि कम होस् भन्ने उद्देश्यले हामीले राहत, शिक्षा र रोजगारको व्यवस्था मिलाएका हौँ,’ नगरप्रमुख चौधरीले भने । 

यसअघि नै सङ्घीय सरकारले प्रदर्शनमा मृत्यु भएकाहरूलाई शहिद घोषणा गर्दै पीडित परिवारलाई प्रतिव्यक्ति रु. १५ लाख राहत दिने निर्णय गरिसकेको छ।

गत भदौ २३ गते काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर २७ वर्षीय विजय चौधरीको मृत्यु भएको थियो। घटनाको नौ दिनपछि मंगलबार उनको गाउँमा अन्तिम संस्कार गरिएको हो।

घरका कान्छा छोरा विजयको परिवारमा एक दाइ, एक दिदी, श्रीमती र चार वर्षीया छोरी छन्। उनी विगत एक दशकदेखि काठमाडौंमा ‘हाउस वायरिङ’को काम गर्दै आएका थिए।
आन्दोलनको क्रममा गत भदौ २३ र २४ गते प्रदर्शनकारीहरूले लहान नगरपालिकाको कार्यालयमा तोडफोड तथा आगजनी गरी भवनमा पूर्ण रूपमा क्षति पुर्याएका थिए, जसबाट करिब ७ करोड बराबरको क्षति भएको नगरपालिकाले जनाएको छ।

नगरप्रमुख चौधरीले भवन जलेर नष्ट भए पनि सेवा प्रवाह नरोकिने प्रतिबद्धता व्यक्त गरे । ‘कार्यालयको संरचना जलेर नष्ट भएको छ, तर हाम्रो सेवा भावना र जिम्मेवारी जलेको छैन। दुःखसुख गरेर भए पनि आइतबारदेखि हामी सेवा प्रवाहमा लाग्ने तयारी गरेका छौँ,’ उनले भने । 

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  २१:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update