Harsamaya
दुई कम्युनिस्ट पार्टीबीच एकता, सुवेदीको संयोजकत्वमा नेकपा

काठमाडौं - दुई कम्युनिस्ट पार्टीबिच एकता भएको छ । लोकनारायण सुवेदीले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी र नारायणप्रसाद शर्माले नेतृत्व गरेको अखिल नेपाल कम्युनिस्ट पार्टीबिच एकता घोषणा गरिएको छ । सोमबार पार्टी एकता घोषणा कार्यक्रम गर्दै नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्ने सहमति भएको हो ।

पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै सुवेदी र शर्माले पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेलिननवाद र माओविचारधारा हुने जानकारी दिए ।

त्यसै गरी नयाँ जनवादी क्रान्ति पूरा गर्दै समाजवाद हुँदै साम्यवादी समाज स्थापना गर्ने पार्टीको उद्देश्य रहेको समेत घोषणा कार्यक्रममा जानकारी दिइएको छ ।

‘नयाँ जनवादी पुँजीवादी जनवादी क्रान्ति नै हो । नयाँ जनवादी क्रान्ति सर्वहारा वर्गको नेतृत्वमा मजदुर किसान, राष्ट्रिय पुँजीपतिलगायत शोषित पीडित वर्ग र समुदायका जनताको संयुक्त जनवादी अधिनायकत्व रहेको जनवादी राज्यव्यवस्था कायम गर्दै समाजवादमा सङ्क्रमण हुने पृष्ठभूमि तयार गर्नेछ’ एकता आधार पत्रमा उल्लेख छ ।

नयाँ पार्टीको क्रान्तिको बाटो सशस्त्र सङ्घर्ष र जनविद्रोहको संयोजित रूपमा हुने आधार पत्रमा उल्लेख छ । त्यस्तै, शोषित उत्पीडित वर्ग र समुदाय र सामन्तवाद, साम्राज्यवादप्रति सम्झौता परस्त दलाल तथा नोकर शाही पुँजीवादी वर्ग र तिनको वर्चस्व रहेको संसदीय व्यवस्थाबिच मुख्य अन्तर विरोध रहेको ठहर पनि गरिएको छ ।

नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कारण जेनजी आन्दोलनमार्फत असन्तोष विस्फोट भएको बताउँदै पार्टीलाई देशको वैकल्पिक शक्तिको रूपमा निर्माण गर्न देशभक्त, क्रान्तिकारी शक्ति, उत्पीडित समुदाय सामन्तवाद साम्राज्यवाद विरोधीलाई गोलबन्द गर्दै बृहत् क्रान्तिकारी राजनीतिक वैकल्पिक शक्ति निर्माण गर्ने दुवै पार्टीका नेताहरूले बताए ।

यो एकताले छरिएका विभिन्न नेपाली क्रान्तिकारी कम्युनिस्ट पार्टी, समूह, सङ्घसंस्थाहरू र स्वतन्त्र व्यक्तिहरूलाई एकीकृत र ध्रुवीकृत गर्ने र कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्ने सुरुवाती प्रक्रियाको कठी हुने विश्वास लिएको शर्माले बताए ।

एकीकृत पार्टीको संयोजक लोकनारायण सुवेदीलाई चयन गरिएको छ । त्यस्तै, सुवेदीसहित १४ सदस्यीय सचिवालय बनाइएको छ । जसमा नारायण शर्मा, शरणबिक्रम मल्ल, लक्ष्मण उप्रेती, भीम सेढाई, एकलाल श्रेष्ठ, पुष्कर गौतम, महेन्द्र जोशी, अन्कुल कुमार राउत, मुकुन्द आचार्य, रामदुलार महतो, भीमकुमार  वान्तवा, बद्री अधिकारी र महादीप पोखरेल रहेका छन् भने ३५ सदस्यीय पोलिटब्युरो सदस्यहरूको नाम सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update