Harsamaya
वीरगन्जमा झाडा–पखाला सङ्क्रमितको सङ्ख्या बढ्दै

वीरगन्ज - वीरगन्जमा झाडा–पखाला सङ्क्रमितको सङ्ख्या पुनः बढ्दै गएको छ । तीन दिनयता परेको अविरल वर्षापछि झाडा–पखालाबाट सङ्क्रमित भई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना हुने बिरामीको सङ्ख्या तीन गुणाले वृद्धि भएको हो ।

गत भदौ २४ र २५ गतेसम्म प्रतिदिन औसतमा ४–५ जना नयाँ झाडा–पखालाका बिरामी अस्पतालमा भर्ना भइरहेका थिए । तर पछिल्ला तीन दिनयता उक्त सङ्ख्या बढेर १५ देखि १८ जनासम्म पुगेको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिएका छन् । उनका अनुसार झाडा–पखालाबाट बच्न अपनाउनु पर्ने सावधानी नागरिकले पालना नगरेको कारण पछिल्लो समय बिरामीको सङ्ख्या बढ्दै गएको हो ।

अविरल वर्षाका कारण नालामा पानीको सतह बढ्नुका साथै लिक भएको पाइप लाइनमा दूषित पानी मिसिनु नै सङ्क्रमित बढ्नुको कारण हुन सक्ने आशङ्का पनि उनले व्यक्त गरेका छन् ।

उनले भने, ‘बिरामीले आवश्यक सावधानी नअपनाउँदा नयाँ सङ्क्रमित थपिँदै गएका छन् भने निको भई घर फर्किएका बिरामी समेत फेरि सङ्क्रमित भएर अस्पताल भर्ना हुनुपरेको छ ।’

एक साता अघि नारायणी अस्पतालमा उपचार गराई घर फर्किएकी वीरगन्ज–१२ मुर्लीकी ३५ वर्षीया महिला फेरि झाडा–पखालाबाटै सङ्क्रमित भई अस्पताल भर्ना भएको पनि उनले जानकारी दिए । पुनः सङ्क्रमित भएकी महिलालाई अस्पतालको मेडिकल वार्डमा राखी उपचार भइरहेको छ ।

डा. सिंहका अनुसार नयाँ बिरामी बढ्दै जानु र निको भएका बिरामी समेत पुनः सङ्क्रमित भई भर्ना हुनु गम्भीर चिन्ताको विषय हो । युवा पुस्ताको आन्दोलनका कारण वीरगन्जका कतिपय सरकारी कार्यालय तोडफोड भई सेवा प्रवाह रोकिएको अवस्थामा झाडा–पखालाका बिरामी बढ्नु झन् चिन्ताजनक भएको उनको भनाई छ ।

वर्षा याममा नालाको सतह बढ्दा लिक भएका खानेपानी पाई पलाइनमा दूषित पानी मिसिने भएकाले झाडा–पखालाको प्रकोप बढ्ने गरेको पनि उनको भनाइ छ ।

 

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update