
काठमाडौं - अन्तरिम सरकारका तीन नवनियुक्त मन्त्रीहरूको आज शपथ ग्रहण हुँदै छ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन् ।
नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालय र रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनी पूर्व अर्थसचिव हुन्।
गत सोमबार र मंगलबार जेनजी पुस्ताका युवाहरूले काठमाडौँ लगायत देशभरि गरेको प्रदर्शन उग्र बनेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।
गत शुक्रबार उनको राजीनामापछि पूर्व प्रधानन्यायाधीश कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् ।