
काठमाडौं - श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओमा उद्योग प्रभावित स्थानीयवासीको समेत उच्च आकर्षण देखिएको छ। स्थानीय तर्फ मागभन्दा बढी आवेदन परेको हुँदा कम्पनीको आईपीओ छोटो अवधिमा नै भदौ २५ गतेसम्म मात्र निष्कासन गरिएको हो ।
कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्कासन गरेको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ निष्कासन भई बाँडफाँट समेत सम्पन्न भइसकेको छ भने अब स्थानीयतर्फको बाँडफाँटपछि सर्वसाधारणका लागि आईपीओ खुल्नेछ ।
नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा जारी गरिएको यस आईपीओ अन्तर्गत कम्पनीले १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँ चुक्तापूँजीको २० प्रतिशत बराबर ३२ करोड ६२ लाख ५० हजार रुपैयाँको आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । यसअनुसार ३२ लाख ६२ हजार ५०० कित्ता शेयर सर्वसाधारणमा जारी हुनेछ ।
जसमध्ये १ लाख ६३ हजार १२५ कित्ता उद्योग प्रभावित स्थानीयलाई र ३ लाख ९ हजार ९३८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको हो । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले कुखुराका चल्ला, अण्डा, सुनौलो प्लेट दाना, माछा तथा बंगुरका लागि आवश्यक दाना उत्पादन गर्दै आएको छ । साथै, कृषकलाई प्राविधिक सहयोग प्रदान गर्ने र उत्पादन संकलन गरी बजारसम्म पुर्याउने काम पनि गर्दै आएको छ । नेपालकै पहिलो आइएसओ प्रमाणित एकीकृत कृषि व्यवसायको रूपमा स्थापित यो कम्पनी आर्थिक वर्ष ०७९८० देखि लगातार नाफामा छ ।
कम्पनीले ०७९र८० मा ३७ लाख ८० हजार, ०८०र८१ मा ५८ लाख ८२ हजार र गत आर्थिक वर्ष ०८१/८२ मा २ करोड १९ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा आर्जन गरेको छ । हाल कम्पनीको वास्तविक प्रतिशेयर आम्दानी १ रुपैयाँ १७ पैसा र प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ५९ पैसा रहेको छ ।