
काठमाडौं - आन्दोलनको नाममा लुटपाटमा संलग्न २६ जनालाई नेपाली सेनाले पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई नेपाली सेनाले प्रहरीको जिम्मा लगाएको छ। उनीहरु काठमाडौं र भक्तपुरका विभिन्न स्थानबाट पक्राउ परेका हुन्। काठमाडौंको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाट गर्ने कार्यमा संलग्न ५ जनालाई पक्राउ गरिएको सेनाले जनाएको छ।
भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, काठमाडौँको होटल हायात र बौद्ध क्षेत्रबाट पनि लुटपाट गर्ने कार्यमा संलग्न २१ जना पक्राउ परेका सेनाले जनाएको छ।
सेनाले लुटपाट, आगजनी तथा अराजक गतिविधि नियन्त्रणका लागि समुदायलाई सक्रिय सहकार्य गर्न पनि आग्रह गरेको छ। सेनाले जारी गरेको सुरक्षा अपडेटमा समुदायलाई चार वटा महत्त्वपूर्ण सन्देशसमेत दिएको छ ।
सेनाले कतै विध्वंसात्मक तथा अराजक गतिविधि देखिएमा तत्काल मोबाइल नम्बर ९८६३०२९०२९ मा ह्वाट्सएप वा भाइबरमा एसएमएस पठाई सहयोग माग्नसमेत सेनाले अनुरोध गरेको छ।