Harsamaya
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज मध्यान्ह १२ बजेसम्म उडान बन्द

काठमाडौं - त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आज  मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो ।

आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बुधबार मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने जनाएको हो । कम्पनीले यात्रु वर्गमा पर्न गएको असुविधाका लागि माफी मागेको छ ।

देशको विषम परिस्थितिले गर्दा हुन नसकेको उडानका कारण आन्तरिकतर्फ विभिन्न गन्तव्यमा जाने वायुसेवा कम्पनीको पनि उडान हुन नसकेको कम्पनीले जनाएको छ । टिकट लिएर हवाई यात्रा गर्न नपाएका यात्रुको पैसा फिर्ता हुने जनाइएको छ ।

यता वायुसेवा सञ्चालक सङ्घले जस्तो सुकै विषम परिस्थितिमा पनि आम जनतालाई सेवा दिने प्रतिबद्धता जनाएको छ । सङ्घका अध्यक्ष मनोज कार्कीले आज एक विज्ञप्ति जारी गर्दै सङ्घका सदस्य कम्पनीहरू सदैव आम जनसमुदायको सेवामा तत्पर रहने जानकारी गराएका हुन् ।

यसैबिच सङ्घले छुट्टै विज्ञप्ति निकालेर उडान सञ्चालनमा रहेका हेलिकप्टरहरूबाट कुनै पनि राजनीतिज्ञ, मन्त्रीलगायतलाई उडान सेवा नदिएको दाबी गरेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  ०७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update