Harsamaya
तामाङ भाषाको लिपि अुछेन(सम्बोटा) नै हो : मातृभाषा अभियन्ता प्रतीक ङेसुर
तामाङ मातृभाषा शिक्षा अभियन्ता प्रतीक ङेसुर तामाङ ।

काठमाडौं - तामाङ मातृभाषा शिक्षा अभियन्ता प्रतीक ङेसुर तामाङले तामाङ भाषा लेखन लिपि अुछेन(सम्बोटा) भएकोले अरुमा अल्मलिनु नहुने बताएका छन्। शुक्रबार अनामनगरस्थित युनियन हाउसमा पत्रकारहरुसँग मातृभाषा पाठ्यक्रमको विषयमा अन्तरक्रिया गर्दै ङेसुरले तामाङले पाठ्यपुस्तकमा प्रयोग गर्ने लिपि सम्बोटा भएको बताएका हुन्।

तामाङ घेदुङले समेत अुछेन नै तामाङको लिपि भएको निर्णय गरिसकेको अवस्थामा अरुमा अलमलिएर नहुने ङेसुरको भनाई रह्यो। '२०५४ सालमा मोरङको उर्लाबारीमा भएको चौथो महाधिवेशनले अुछेन/सम्बोटालाई आधारभूत लिपि मानेर नयाँ लिपि विकास गर्ने निर्णय गरेपनि घेदुङले नयाँ नबनाई हुबहु चलाउँदै आएको छ,' अभियन्ता ङेसुरले भने।

तामाङ घेदुङले पछिल्लो पटक तामयिगलाई नयाँ लिपि दाबी गर्दै आएको छ। त्यसै गरी गोरखापत्र दैनिकमा नयाँ नेपाल पृष्ठमा तामाङ भाषामा तामयिग दाबी गर्दै सम्बोटा लिपि प्रयोग गर्दै आएको छ।

गत वर्ष भाषा आयोगले तामाङहरुको ३ वटा लिपि भएको उल्लेख गरेको छ। ङेसुरले यो भाषा आयोगको त्रुटि भएको बताए। सरलीकरणको नाममा हुबहु लिपि चलाएर तामयिग नाम राखिनु गलत भएको उनको भनाइ रह्यो।

ङेसुरको नेतृत्वमा हालसम्म १४ स्थानीय तहमा तामाङ मातृभाषाको पाठ्यक्रम तयार भइ पठनपाठनको जारी छ। कक्षा ३ सम्म तयार पारिएका पाठ्यक्रम अब तामाङ बाहुल्य रहेको स्थानीय तहमा विस्तारको क्रम जारी रहेको उनले बताए।

ङेसुरले एक दशकअघिदेखि यस विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै आएको र तामाङ भाषा र लिपि पुस्तक(२०७६)मार्फत पनि प्रष्ट पारिसकेको बताए।

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  १९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update